प्यूठान । प्यूठानमा धारिलो हतियार प्रहार गरी पूर्व पत्नीको हत्या भएको छ । जिल्लाको सरुमारानी गाउँपालिका ३ गोठेरीकी २८ बर्षिया रुकमनी बरालको पूर्वपति लिला बहादुर बरालले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । छिमेकी डिला परियारको घरमा बसिरहेकी बरालको पूर्वपति बरालले एक्कासी धारिलो हतियार प्रहार गरी घाँटी रेटेका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बडडाँडा प्युठानबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ४ जनाको टोली र इलाका प्रहरी कार्यालय बिजुवार प्युठानबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमान्डमा ५ जनाको टोली घटनास्थलमा खटिएको थियो । हत्यामा संलग्न ऐरावती गाउँपालिका २ का ३० बर्षिय लिला बहादुर बराललाई प्यूठान प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।

