राजेश जीसी,प्यूठान । लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले दम्ती, धाईरे, अधेँरी सडकको सोमवार शिलान्यास गरेका छन् । जिल्लाको प्यूठान नगपालिका र नौबहिनी गाउँपालिका अन्तर्गत पर्ने ६ किलोमिटर लामो सडक कालोपत्रे गर्नेगरी मन्त्री थापाले शिलान्यास गरेका हुन् । सडकलाई २ खण्डमा बिभाजन गरेर ठेक्का लगाएको शहरी बिकास तथा भवन कार्यालय दाङले जनाएको छ । सडक आ.ब. २०८२÷०८३ को असार मसान्तभित्र निर्माण सक्ने गरी हरियाली निर्माण सेवा र एजी कन्ट्रक्सनले ठेक्का पाएका छन् । थापा मन्त्री भएपछि सो सडक स्तरोन्नती तथा कालोपत्रे गर्नका लागी गत आ.ब. असारमा पैदलयात्रा गरेका थिए । यस अघि पनि मन्त्री थापाको पहलमा ४२ करोडमा बहाने –स्याउलीबाङ स्तरोन्नतीको काम थालिएको थियो । ‘निर्वाचनका बेला मैले यस सडकको स्तरोन्नती तथा कालोपत्रे गर्ने बाचा गरेको थिए,आज त्यहि बाचा पुरा गरेको छु ’ मन्त्री थापाले भने । यो सडक निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकले सहज यात्रा गर्न पाउने नौबहिनी गाउँपालिका ६ का सुर्य केसीले बताए । ‘यो सडक कसैको चासोमा परेको थिएन्, आज सडक शिलान्यास भएपछि बन्नेमा हामी ढुक्क छौँ’ उनले भने,‘हामीले खोजेको जनताको भावना बुझ्ने यस्तै मन्त्री हो ।’
त्यस्तै लामो समयदेखि चर्चामा रहेको बाग्दुला–मच्छी सडकको कालोपत्रेका लागी पनि ठेक्का आह्वान भएको छ । मन्त्री थापाकै सक्रृयतामा सडक स्तरोन्नती तथा कालोपत्रेका लागी ३० करोडको बहुबर्षिय ठेक्का आह्वान भएको छ । सो सडक कालोपत्रे भएपछि झिमरुक गाउँपालिका,गौमुखी गाउँपालिकाका साथै छिम्की जिल्ला अर्घाखाँची र गुल्मीका नागरिकलाई यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

