प्यूठान। लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले देशको रक्षा, संबिधानको संरक्षण र समग्र विकासका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता अब अत्यावश्यक बनेको बताएका छन्।
नौबहिनी गाउँपालिका–७, एकता युवा क्लबको १३औँ बार्षिक उत्सव तथा विविध खेलकुद कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा त्यसपछिको अस्थिर माहोलका कारण मुलुक ठूलो दुर्घटनाको सामना गर्न बाध्य भएको भन्दै अब दलहरूले परस्पर आरोप–प्रत्यारोपलाई त्यागेर हातेमालो गर्दै अघि बढ्नुपर्ने समय आएको बताए।
“आरोप–प्रत्यारोपमै लाग्यौँ भने हामी नै नरहने अवस्था आउन सक्छ,” उनले भने, “हामीले बेलैमा विचार गरेर देश विकासको मोडेल अघि बढाउनुपर्छ।”
विकासका प्रमुख योजनामा तीव्रता : दम्ती–अँधेरी सडकदेखि पाडाबाङ मोटरेबल पुलसम्म
मन्त्री थापाले आफू मन्त्री बनेपछि प्राथमिकतामा राखिएको दम्ती–अँधेरी सडकखण्ड कालोपत्रेका लागि बजेट विनियोजन भई ठेक्का प्रक्रिया पूरा भएको र केही दिनमै निर्माण कार्य सुरु हुने बताएका छन्।
त्यस्तै, पाडाबाङको पक्की मोटरेबल पुल निर्माण कार्य पनि सुरु भइसकेको जानकारी उनले दिए।
अघिल्लो क्याबिनेटमा मन्त्री हुँदा लामो समयदेखि सड़क पहुँचबाट वञ्चित रहेको बाहाने–स्याउलीवाङ सडकका लागि आवश्यक बजेट विनियोजन गरेको र हाल त्यहाँ यातायात सहज बनेको उल्लेख पनि उनले गरे।
उनका अनुसार नौबहिनी गाउँपालिकाको व्यापक विकासका लागि पालिका अध्यक्ष, वडा अध्यक्षलगायत स्थानीय निकायसँग समन्वय र सहकार्य गर्दै काम अघि बढाइरहेको छ।
‘विकासप्रतिको लगाव सम्माननीय’ : अध्यक्ष थापा
कार्यक्रममा बोल्दै नौबहिनी गाउँपालिका अध्यक्ष डिलाराम थापा ले मन्त्री रोज राणाले प्युठानको विकासप्रति देखाएको सक्रियता, लगनशीलता र निरन्तर चासो अत्यन्त प्रशंसनीय रहेको उल्लेख गर्दै सहभागीलाई ताली बजाएर सम्मान प्रकट गर्न आग्रह गरे।
विकट स्याउलेमा पहिलोपटक मन्त्रीको उपस्थिति, स्थानीय उत्साहित
जिल्लाको सबैभन्दा विकट बस्ती मानिएको स्याउलेमा पहिलोपटक मन्त्रीस्तरको अधिकारी उपस्थित भएपछि स्थानीयवासीहरूले विशेष खुसी प्रकट गरेका थिए।
स्थानीयले मन्त्रीको सरोकार र प्रत्यक्ष निरीक्षणले आगामी दिनमा विकासका काममा अझ गति आउने आशा व्यक्त गरेका छन्।

