प्यूठान । प्यूठानको विकास, समृद्धि र जेनजी आन्दोलनका माग पूरा गर्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रा.डा. गोविन्दराज पोख्रेलले बताएका छन्।
गौमुखी गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले प्यूठान जिल्लामा अपेक्षाअनुसार विकास र समृद्धि हुन नसकेको उल्लेख गर्दै आफूलाई जनताले विजयी गराए जिल्लाको मुहार फेर्ने गरी काम अगाडि बढाउने प्रतिबद्धता जनाए।
उनले लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले जिल्लाको विकासका लागि सुरु गरेका कामलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै आफू पनि जिल्लाका सबै क्षेत्रको समग्र विकासमा लाग्ने बताए।
“सरोज थापाले विकासको काम थाल्नुभएको छ, त्यसमा हातेमालो गर्दै प्यूठानलाई विकसित जिल्लाको हैसियतमा पुर्याउनेछु,” उनले भने, “त्यसका लागि प्यूठानी जनताले मलाई सांसदका रूपमा विजयी गराउने विश्वास लिएको छु।”
पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत रहेका पोख्रेलले आफूले सुरु गरेका तथा प्रस्तावित योजनालाई निरन्तरता दिने बताए। उनले जिल्लामा रोजगारीका अवसर सिर्जना गर्ने, नौमुरे जलविद्युत् परियोजना सम्पन्न गरी स्थानीयलाई रोजगारी प्रदान गर्ने, भालुबाङ–बाग्दुला–ठुलाबेसी–बागलुङ भिमगिठे सडक निर्माण गरी पर्यटकीय गतिविधि बढाउने योजना रहेको बताए।
साथै, प्यूठान जिल्लालाई भारत र चीनबीचको सम्भावित व्यापारिक केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसमेत रहेको उनले स्पष्ट पारे।

