प्यूठान । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देही भैरहवाले आज (बुधवार) भिंगीमा बजार अनुगमन गरेको छ ।
निर्देशनालयका निमित्त निर्देशक इश्वरचन्द्र आर्यालको नेतृत्वमा गरिएको बजार अनुगमनले ८५ हजार ३२५ रुपैया बरावरको म्याद गुज्रिएका खाद्य तथा अखाद्य सामाग्री बरामद गरेको छ ।
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, भैरहवा, स्वर्गद्धारी नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय प्यूठान, जिल्ला प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय भिंग्री, प्यूठान उद्योग वाणिज्य संघ र पत्रकार सहितको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।
अनुगमन टोलीले भिंग्री बजारका किराना तथा खाद्यान्न पसल, हार्डवेयर पसल, होटल लगाएतका २७ वटा पसलको अनुगमन गरेको थियो । अनुगमन टोलीले अनुगमनको क्रममा फेला परेका ८५ हजार ३२५ बराबरको म्याद गुज्रिएका सामान जफत गरि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका निमित्त प्रमुख मनिबहादुर गुरुङले जानकारी दिए ।
टोलीले खाद्य तथा अखाद्य वस्तुको म्याद, भए नभएको, होटल तथा मिठाई पसलमा व्यवसाय दर्ता सम्बन्धित निकायमा गरे नगरेको, अन्तःशुल्क तिरे नतिरेको अनुगमन गरेको थियो । अनुगमनका क्रममा मूल्य सूची नराखेको, व्यवसायको पूँजी वृद्धि नगरेको, व्यवसाय दर्ता, नवीकरण तथा सूचीकृत नगरेको, म्याद नाघेका पेन्ट, खाद्यवस्तु, पेयपदार्थ, लगायतको सामाग्री भेटिएको उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाका निमित्त निर्देशक ईश्वरचन्द्र अर्यालले जानकारी दिए ।
अनुगमनका क्रममा भेटिएका म्याद नाघेका खाद्य तथा अखाद्य सामाग्री जफत गरेको निमित्त प्रमुख अर्यालले बताए ।
उपभोक्ता हितका लागि निर्देशनालयले निरन्तर बजार अनुगमन गर्दै आएको निमित्र निर्देश अर्यालको भनाइ छ । स्वच्छ र स्वास्थ्यकर सामान उपभोग गर्न पाउनु उपभोक्ताको अधिकारलाई सुनिश्चितताका लागि अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने नेपाल पत्रकार महासंघका अध्यक्ष सञ्जय रिजालको भनाइ छ ।
निर्देशनालयका वरिष्ठ शाखा अधिकृत नेत्रप्रसाद खनाल, घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख मनिबहादुर गुरुङ, जिल्ला प्रशासन कार्यालय प्यूठान, उद्योग वाणिज्य संघ, स्वर्गद्धारी नगरपालिकाका प्रतिनिधि, इलाका प्रहरी कार्यालय भिंग्रीका प्रतिनिधि र सञ्चारकर्मी लगायतको अनुगमनमा सहभागिता रहेको थियो ।

