प्यूठान । मल्लरानी गाउँपालिकाले ‘एक वडा एक रिचार्ज पोखरी’ निर्माण कार्यको थालनी गरेको छ । जलबायू परिवर्तनका कारण पानीका मुहान सुक्दै जान थालेपछि ‘एक वडा एक रिचार्ज पोखरी’ निर्माण गर्न थालेको हो । जनश्रमदानबाट पालिकाका सबै वडामा पोखरी निर्माण गर्ने मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले बताए ।
पहिलेका पोखरी मासिँदै जाने र जलबायू परिवर्तन तथा बन जङगल फडाँनी लगायतका कारणले पानीका मुहान सुक्दै गएकाले मुहान संरक्षण गर्ने यो कार्यक्रमले सहयोग पुग्ने अध्यक्ष खड्काको भनाई छ । ‘पानीको समस्यालाई कम गर्नका लागी रिचार्ज पोखरी निर्माणको काम थालेका हौँ’ उनले भने,‘यस बर्ष सबै वडामा पोखरी निर्माण गर्छौ ।’

पुर्वाधार बिकाससंगै सडक निर्माणका क्रममा वनजङ्गल मासिने र खानेपानीको श्रोत सुकेर जाँदा यहाँका स्थानीयलाई खानेपानीको चरम समस्या हुदै गएको छ । बाउँ बाजेको धर्मका नाममा पोखरी निर्माण गर्ने गरेको भएपनि, अहिले भएका पोखरी पनि मासिँदै गएको मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश श्रेष्ठले बताए । अहिलेसम्म २ वटा पोखरी निर्माण भएका छन् । जनप्रतिनीधीले पनि श्रमदान गर्नुपर्छ भन्ने मान्यताका साथ पालिकाका ५ वटै वडामा रिचार्ज पोखरी निर्माण थालेको उपाध्यक्ष श्रेष्ठको भनाई छ । ‘पानीको मुहान संरक्षण,खानेपानीको आपूर्तीमा सहज ल्याउन मुहानको शिरमा पोखरी निर्माण थालेका हौँ’ श्रेष्ठले भने,‘यसले पानीको मुहान संरक्षणका सहयोग पुग्नेछ ।’
स्थानीयबासी तथा जनप्रतिनीधीको श्रमदानबाट सबै रिर्चाज पोखरी निर्माण गर्ने योजना रहेको पालिकाले जनाएको छ ।

