प्यूठान । प्यूठान नगरपालिका वडा नं.१ को वडा भवनको सिलान्यास गरिएको छ। लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा ९रोज राणा०ले सोमबार भवनको सिलान्यास गरेका हुन्।
तीन तहको सरकार गठन भएको लामो समय बितिसक्दा पनि वडा कार्यालयले भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको थियो। अब आफ्नै भवन निर्माण भएपछि नागरिकलाई सेवा प्रदान गर्न थप सहज हुने प्यूठान नगरपालिकाले जनाएको छ।
भवन निर्माणका लागि संघीय सहरी विकास मन्त्रालयबाट ७० लाख रुपैयाँ विनियोजन गरिएको प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर योगीले जानकारी दिए। नगर उपप्रमुख देवेन्द्र वर्माले प्युठान नगरपालिकाका १० वटै वडा भवन निर्माणको अभियानमा वर्तमान नगरपालिका नेतृत्व लागेको र यहि कार्यकालमा सम्पन्न गर्ने वताए ।
लुम्बिनी प्रदेश सरकारका मन्त्री सरोज थापाले निर्माण व्यवसायीलाई गुणस्तरीय र समयमै वडा कार्यालय भवन निर्माण गर्न आग्रह गरे। उनले नयाँ भवन निर्माण सम्पन्न भएसँगै सम्पूर्ण वडावासीले सहज रूपमा सेवा लिन पाउने विश्वास व्यक्त गरे ।
के.बी. कन्स्ट्रक्सनले भ्याट बाहेक २९ लाख २० हजार ७६१ रुपैयाँमा भवन निर्माणको जिम्मा पाएको छ। निर्माण कार्य बि.सं. २०८३ साल जेठ १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। साथै वडा नं १ को वडा कार्यालयमा प्रदेश शहरी विकास मन्त्रालयले पर्खाल निर्माण लगायतका कार्यका लागि ३० लाख विनियोजन समेत गरेको छ ।

