प्यूठान
झिमरुक गाउँपालिकामा आर्थिक अनियमितता भएको बिषयमा छानबिन गर्न गठन भएको शुसासन तथा संस्थागत बिकास समितिले प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन् । गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले सामाजिक सञ्जाल फेसबुकमार्फत पालिकामा नीतिगत भष्ट्राचार,कमिसनको बार्गेनिङ भएको भन्ने अभिब्यक्ति दिएपछि त्यसको छानबिन गर्ने वडा नं. ६ का अध्यक्ष धन बहादुर पूनको संयोजकत्बमा छानविन समिति गठन भएको थियो ।
समितिले महालेखाको प्रतिवेदन सार्वजनिक पश्चात प्रतिबेदन सार्वजनिक गर्ने भनेपनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक गर्न नसकेको हो । उपाध्यक्ष पोख्रेलले सार्वजनिक रुपमै अभिब्यक्ति दिएपछि भदौको दोस्रो साता समिति गठन भएको चार महिना बितिसक्दा समेत प्रतिवेदन सार्वजनिक हुन नसकेको हो । समितिले के कति काम ग¥र्याै त्यो पनि जानकारी दिएको छैन् । प्रतिवेदन सार्वजनिक नहुदाँ समितिमाथि कसैको दवाब आएको होकी भन्ने प्रश्न चिह्न उठेको छ ।
यस बिषयमा अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा उजुरी परेका कारण छानबिन प्रक्रिया रोकेको समितिका संयोजक धन बहादुर पुनले बताए । ‘अख्तियारमा उजुरी परेको छ’ उनले भने,‘अख्तियारको प्रतिवेदन जे आउँछ त्यहि नै आधिकारिक हुन्छ ।’ कार्यदलले काम गर्दा गर्दै अख्तियारमा मुद्धा परेपछि छानबिन गर्न रोकेको पुनले बताए ।

