प्यूठान । सामाजिक सञ्जालमार्फत ठगी गर्ने एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । टिकटकमार्फत ठगी गर्ने कालिकोट धालाटैकर गाउँपालिका ६ का धर्मराज रोकायलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो । रोकायले टिकटकमार्फत चिनजान गरी स्वर्गद्वारी नगरपालिकाकी एक महिलाबाट दुई लाख २० हजार रुपैया ठगी गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
प्रहरीका अनुसार रोकायाले आफूलाई भारतीय सेनामा कार्यरत भन्दै स्वर्गद्वारी नगरपालिकाकी एक महिलासँग टिकटकमार्फत सम्पर्क गरेका थिए ।
उनले आमा बिरामी परेकी बहाना बनाई पीडित महिलाबाट पैसा लिएर सम्पर्कविहीन बनेका थिए ।
पीडितले २०८१ साल चैत ९ गते जिल्ला प्रहरी कार्यालय प्युठानमा लिखित उजुरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । निगरानीपछि रोकायालाई वैशाख ५ गते बुटवलस्थित एक होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हाल उनीमाथि जिल्ला अदालत प्युठानबाट म्याद थप गराई थप अनुसन्धान अघि बढाइएको छ।

