प्युठान। ऐरावती गाउँपालिका तथा वडा कार्यालयमा कार्यरत प्राविधिक कर्मचारीहरुको लागि अभिमुखीकरण कार्यक्रम आजदेखी संचालन भएको छ । ऐरावती गाउँपालिकाको आयोजनामा कार्यक्रम संचालन भएको हो । आज एक कार्यक्रमका बिच ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले ब्यानर पढेर अभिमुखीकरण कार्यक्रमको उद्घाटन गरेका हुन ।
ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत बालगोपाल श्रेष्ठ, वडा नं १ का वडा अध्यक्ष अमर बहादुर रेस्मी मगर, गाउँपालिकामा कार्यरत शाखा प्रमुख तथा पालिका तथा वडामा कार्यरत प्राविधिक कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष शाहले अभिमुखीकरण कार्यक्रमले प्राविधिक कर्मचारीहरुको काम गर्ने क्रममा एक आपसमा समन्वय हुने विश्वास ब्यक्त गरे । अभिमुखीकरण कार्यक्रम पश्चात यस आर्थिक वर्षमा संचालन हुने योजनाका काममा सहज हुने समेत शाहको भनाइ छ ।
भोलीसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा भवन, खानेपानी, सार्वजनिक खरिद प्रकृयाका बारेमा पुर्नताजगी गरिने ऐरावती गाउँपालिकामा कार्यरत ईन्जिनीयर सन्तोष नेपालीले जानकारी दिए ।

