प्यूठान । प्यूठानमा बर्षापछिको बाढी पहिरोका कारण कृषि क्षेत्रमा करिब २२ लाखभन्दा बढिको क्षति भएको छ ।
एकिकृत कृषि तथा पशुपन्छी कार्यालय प्यूठानका अनुसार असारको अन्तिम सातादेखि असोज १२ गतेसम्म उक्त रकम बरावरको कृषि बालीमा क्षति भएको हो । जिल्लाको प्यूठान नगरपालिका,माण्डवी गाउँपालिका लगायतको क्षेत्रमा धान,मकै लगायतको बालीमा बाढि पहिरोले कृषि क्षेत्रमा ठुलो क्षति गरेको कार्यालयले जनाएको छ ।
गत असार तेस्रो साता तथा साउन १२ गते परेको पानीले सबैभन्दा धेरै कृषि क्षेत्रमा क्षति पुगेको एकिकृत कृषि तथा पशुपन्छी कार्यालय प्यूठानका प्रमुख उमेशचन्द्र श्रेष्ठले बताए । ‘पानीले सबैभन्दा धेरै प्यूठान नगरपालिकाको मरन्ठाना र माण्डवी गाउँपालिकामा लगाएको धान बालीमा क्षति भएको छ’ उनले भने,‘क्षतिको विवरण संकलन गरी सम्बन्धित निकायमा पठाएका छौँ ।’
बाढि पहिरोका कारण जिल्लाका बिभिन्न स्थानमा करिब १५ हेक्टर क्षेत्रफलमा लगाएको बालीमा क्षति गरेको छ , त्यस्तै असोज १० गतेदेखि परेको पानीका कारण प्यूठान नगरपालिका १ खैरामा पालन गरिएको माछामा क्षति गरेका छन भने ७ लाख बरावरको माछा बगाएको क्षति भएको कार्यालयले जनाएको छ ।

