काठमाडौं । भक्तपुरमा सुमो गाडीको ठक्कले एक जनाको मृत्यु भएको छ । शुक्रबार राति सवा ९ बजे भक्तपुर नगरपालिका–१ घलातेमा सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नम्बरको सुमोले ठक्कर दिदा बागलुङ गल्कोट नगरपालिका–१० का ३५ वर्षीय मनबहादुर घर्तीको मृत्यु भएको हो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका घर्तीको उपचारका क्रममा राति नै भक्तपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
त्यस्तै झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको हो भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार मेचीनगर–१५ लालझोडास्थित भित्री सडकखण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो ।
मोटरसाइलकमा तीन जना सवार थिए । दुर्घटनामा घाइते मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

