प्युठान । स्वर्गद्वारीमा भब्य नयाँ मन्दिर बन्ने भएको छ । उक्त मन्दिर पशुपतिनाथ मन्दिरको ढाँचा तथा शैलमा बन्ने भएको हाे तर स्वर्गद्वारीमा बन्ने मन्दिर पशुपतिनाथकाे भने नबन्ने स्वर्गद्वारी आश्रमले जनाएको छ ।
आश्रमका वासुदेव भट्टराईले आरध्यदेव पशुपतिनाथकाे दिव्य मन्दिर त परापुर्व कालदेखि यथावतस्थानमा नै रहेको वताए । पशुपतिनाथकाे महिमा यथावत नै ठिक छ- उनको भनाइ छ । “यहाँ बन्ने मन्दिर स्वर्गद्वारी महाप्रभुकै आस्था, विश्वास र विचारका आधारमा बन्ने छ । पशुपतिनाथ मन्दिर बनाउने हल्ला हाे” उनले भने,”अहिले सामाग्री जम्मा गर्ने काम हुदैछ,अब ५/६ महिनापछी निर्माण कार्य सुरु हुन्छ ।”
स्वर्गद्वारी बाल तपस्वी महाप्रभुले राज्यकोषबाट रकम लिएर धार्मिक कार्य गर्न नहुने साेंच राखेकोले सरकारकाे पैसाबाट अब बन्ने मन्दिरको कुनै पनि अंश नबनाउने समेत बताए । महाप्रभुका अविछिन्न उत्तराधिकारी महन्त ज्युहरुले महाप्रभुकाे विचार जानकारी गराएकोले शुद्ध भक्तहरुबाट दान लिएर मात्र मन्दिर बनाउने उनको भनाइ छ।
स्वर्गद्वारीमा मन्दिर बनाउन दान दिन चाहने भक्तहरु निशंकाेच यो महादान अभियानमा साथ दिन समेत स्वर्गद्वारी आश्रमका बह्मचारी गुरु वासुदेव भट्टराईले आह्वान गरे । भट्टराईका अनुसार मन्दिरको अहिले बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर)को काम भैरहेको छ र निर्माणका लागि १४ करोड लाग्ने अनुमान रहेको छ ।

