प्यूठान । प्यूठानमा रियालीटी शो को नाममा ठगी धन्दा सञ्चालन हुदै आएको छ । प्यूठानी डान्स स्टार (प्यूठानी आइडल) सञ्चालन गरी सहभागीलाई टिकट बिक्रि गर्न लगाइ आयोजकले ठगी धन्दा चलाएका छन् ।
आयोजकले सेमिफाइनल तथा फाइनलका लागी १० र २० हजार रुपैया बराबरको टिकट बिक्रि गर्न लगाउने गरेको नाम नखुलाउने शर्तमा एक सहभागीले बताए । आयोजकले तोकिएको भन्दा आधामात्र पुरस्कार दिने गरेको छ । “बिजेतालाई आधामात्र पुरस्कार दिन्छ भने आधा टिकटको नाममा आयोजकले काटिदिन्छ” सहभागीले भने, “यहाँ कलाको भन्दापनि कमाउ धन्दा चलेको छ ।”
जिल्लामा यस्तो धन्दा चलिरहदा जिल्लाका सरोकारवाला निकाय भने मौन बसेको छ । कला तथा प्रतिभाको खोजीको नाममा खुलेयाम ठगी हुदाँ पनि सरोकारवाला निकाय मौन बस्नु राम्रो पक्ष नभएको पत्रकार प्यार अली खानले बताए । “भोटिङको नाममा पैसाको चलखेल हुँदा असली नृत्य प्रतिभाको खोजी गर्न सकिँदैन।” खानले भने,“प्रायोजक खोजेर कार्यक्रम गर्नुपर्थ्यो, प्रतिस्पर्धीबाट रकम संकलन गरेर होईन।”
जिल्ला प्रशासन कार्यालयमा आयोजकले डान्सिङ स्टार सञ्चालनका लागी अनुमति नलिएको प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताए । प्रतिभाको खोजीको नाममा ठगी धन्दा भएको भए कारवाही गर्ने उनको भनाई छ । भाटिङ्का लागी नभएर फाइनल प्रबेशका लागी टिकट बिक्रि गरेको आयोजकले दाबी गरेको छ । आइडल सञ्चालनका लागी जिल्ला प्रशासन कार्यालयमा निबेदन दिएको बताएको छ ।

