नवलपुर
नवलपुरमा जापानिज ईन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको कावासोती नगरपालिकाका एक जना, देवचुली नगरपालिकाका एक जना गरि दुई जनामा यो संक्रमण देखिएको थियो । संक्रमण देखिएका मध्ये कावासोतीका संक्रमित एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । देवचुलीका संक्रमितको भने चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । क्युलेक्स जातको लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगबाट नवलपुरमा गत आर्थिक वर्षमा सात जनामा जापानिज ईन्सेफ्लाइटिस पुष्टि भएको थियो । पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बिरामीलाई उच्च ज्वरो आउने, वान्ता हुने, घाटी दुख्ने, चेतना हराउने, बेहोस हुने लगायतका लक्षण देखा पर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । यो रोग लागेपछि बिरामीको मृत्यु हुनसक्ने सम्भावना धेरै हुने भएकाले पहिले नै सचेत हुनुपर्ने चिकित्सकहरुको भनाई छ । कुनै लामखुट्टेले जापानिज इन्सेफलाइटिस भाइरस भएको जनावरलाई (जस्तैसुँगुर वा जलपंक्षी) टोकेर त्यही लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग मानिसमा सर्ने गर्दछ ।

