प्यूठान ।
सरूमारानी गाउँपालिकाको आर्थिक बर्ष ०८०/०८१ मा पुर्वाधार विकास ९६ दशमलव ४८ प्रतिशत भौतिक प्रगति भएको छ । गाउँपालिकाले मंगलबार आयोजना गरेको आर्थिक बर्ष ०८०/०८१ को पुर्वाधार विकास तर्फको वार्षिक समीक्षा कार्यक्रममा ईन्जिनियर सुभाष गौतमले कार्य प्रगति प्रस्तुत गर्दै पुर्वाधार विकास तर्फ ९६ दशमलव ४८ प्रतिशत प्रगति भएको बताउनुभयो । गाउँपालिकाले शतप्रतिशत लक्ष्य हासिल गर्ने गरी अगाडि बढे पनि केही आयोजनाहरु समयमै सम्पन्न नहुदा लक्ष्य हासिल गर्न नसकेको बताए ।
प्रमुख प्रशासकिय अधिकृत देविराम पाठकले समग्रमा गाउँपालिकाले पुर्वाधार विकास तर्फ राम्रो प्रगति गरेको बताए । जनप्रतिनिधि,कर्मचारी तथा स्थानीय सबैको सक्रिय सहभागीतामा लक्ष्य हासिल गर्न सफल भएको बताए । साथै कार्य सम्पादनमा भएका कमि कमजोरीहरुलाई सुधार गर्दै अगाडि बढ्न सम्पुर्ण कर्मचारीलाई आग्रह गरे ।
गाउँपालिकाका पुर्बाधार विकास समिति संयोजक, प्रवक्ता तथा ४ नंम्बर वडा अध्यक्ष चिन्त सोमै मगरले चालू आर्थिक बर्षमा यो भन्दा अझै बढि लक्ष्य हासिल गर्ने गरी काम कार्वाहीलाई अगाडि बढाउने बताए ।
पुर्वाधार विकास समिति संयोजक चिन्त सोमै मगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देविराम पाठकको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा समितिका सदस्यहरू,लेखा अधिकृत टोप बहादुर शाही, योजना शाखा प्रमुख तेजेन्द्र भण्डारी ,प्राविधिक शाखाका कर्मचारीहरू लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संञ्चालन प्रशासन शाखा प्रमुख लक्ष्मण आचार्यले गरेका थिए ।

