प्यूठान । प्यूठानकी पार्वती घर्ति ‘उत्कृष्ट लघु उद्यमशील पुरस्कार’बाट सम्मानित भएकी छिन् । डा. हरिहर देव पन्तको १० औं स्मृति दिवसको अवसरमा बिजुवारमा आयोजित विशेष समारोहमा उनलाई यो पुरस्कार प्रदान गरिएको हो । निर्धन उत्थान लघुबित्त वित्तीय संस्थाले घर्तिलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।
लुम्बिनी प्रदेशका उद्यमशील महिलामध्ये सफल र प्रेरणादायी योगदान गर्दै आएका उद्यमीलाई सम्मान गर्ने क्रममा यस वर्ष प्यूठानकी घर्ति छनोट भएकी हुन् । उनी कवाडी व्यवसाय सञ्चालन गर्दै आत्मनिर्भर जीवनयापनमा अघि बढेकी छन् ।
समारोहमा वक्ताहरूले उद्यमशीलतालाई ग्रामीण विकासको मेरुदण्डका रूपमा चित्रण गर्दै घर्तिको योगदानलाई प्रेरणादायी उदाहरणका रूपमा प्रस्तुत गरे । ग्रामीण महिलाले गरेको यस्ता प्रयासले अन्य महिलालाई पनि आर्थिक आत्मनिर्भरता र सशक्तिकरणतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरिएको थियो ।
पुरस्कार प्राप्त गरेपछि आफ्ना अनुभव बाँड्दै घर्तिले भनिन्, “यो सम्मान केवल मेरो लागि मात्र होइन, उद्यमशील यात्रामा लागेका सम्पूर्ण महिलाको लागि प्रेरणादायी हो । यसले मलाई आगामी दिनमा अझ नयाँ काम गर्न हौसला दिएको छ ।”
डा. हरिहर देव पन्त नेपालका सहकारी तथा वित्तीय क्षेत्रका अग्रणी अभियन्ता थिए । उनको स्मृतिमा स्थापना गरिएको यो पुरस्कारले ग्रामीण क्षेत्रमा आत्मनिर्भर उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्य लिएको आयोजकले जानकारी दिएका छन् ।

