रुपन्देही । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आयोजना सम्पन्न गर्नका लागि जनस्तरबाट निगरानी गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा लुम्बिनी प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्ने बताउनुभयो।
उहाँले विकास निर्माणमा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिँड्ने बताउनुभयो । आयोजना समयमै सक्न निर्देशन दिँदै उहाँले समयमै काम सकेर स्याबासी कमाउन प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । “छिटो सक्ने नाममा गुणस्तरमा सम्झौता हुन सक्दैन, गुणस्तरीय काम गरेर समयमै सक्ने गरी अगाडि बढ्नुपर्छ”–उहाँले भन्नुभयो । उहाँले तीन वर्षमा सक्छु भनेको काम नसकेर पछुताउने अवस्था नआओस् भन्दै भनेकै अवधिमा काम पूरा हुने विश्वास गर्नुभयो ।
त्यसअघि निर्माण कम्पनीका प्रतिनिधिले सम्झौता अवधि ५ वर्ष भएपनि ३ वर्षमा काम सम्पन्न हुने गरि तयारी गरिएको जानकारी दिएका थिए ।
अर्थमन्त्री पौडेलले भवन मात्र निर्माण गरेर नहुने उल्लेख गर्दै त्यसको प्रभावकारी व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । “संघीय सरकारले के सहयोग गर्नुपर्छ, त्यसको लागि तयार छ ।” उहाँले भन्नुभयो ।
१२ सय शय्याको अस्पतालमा ठूलो सङ्ख्यामा दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै अर्थमन्त्री पौडेलले विशेषज्ञ चिकित्सकसहित जनशक्तिको व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्ने बताउनुभयो। अस्पताल भवन बन्दैमा अत्याधुनिक उपकरण छैन भने प्रभावकारी उपचार नहुने भन्दै पौडेलले सबै हिसाबले सुविधा सम्पन्न अस्पताल बन्न जरुरी रहेको बताउनुभयो ।

