प्यूठान । बाग्दुला मच्छी सडकलाई केन्द्रीय समपुरक योजनामा राख्न राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयलाई सिफारिस गरेको छ । उत्तरी प्यूठानको मेरुदण्दका रुपमा रहेको यो सडकलाई आयोगले निर्णयसहित अर्थमा सिफारिस गरेको हो । केन्द्रीय समपूरक योजनामा यो सडकखण्डलाई समावेश गराउन लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री सरोज थापाले पहल गरेका थिए । निर्वाचनका समयदेखि नै यो सडक स्तरोन्नती गर्ने अडान लिएका मन्त्री थापाले केन्द्रीय योजनामा राख्न सफल भएका छन् ।
‘म निर्वाचित भएपछि यो सडक बनाएरै छोड्ने मुख्य एजेण्डा थियो’ उनले भने,‘सोहि एजेण्डा पुरा गर्न ३० करोड रुपैया बजेट बिनियोजनका लागी योजना आयोगको निर्णयसहित अर्थ मन्त्रालयमा सिफारिस भएको छ ।’ केन्द्रीय समपुरक योजनामा राख्न सिफारिस भएसगैँ मन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस राख्दै प्यूठानबासीलाई धन्यावाद ज्ञापनसमेत गरेका छन् । मन्त्री थापाले लेखेका छन्,‘प्यूठान निर्वाचन क्षेत्र नं. २ को विकासको मेरुदण्डको रुपमा रहेको बाग्दुला मच्छि सडकलाई स्तरीय बनाउने निर्वाचनको समयमा मैले मतदाताहरुसंग मुख्य एजेण्डा बनाएको थिएँ । उक्त सडक मेरो पहलमा लुम्बिनी प्रदेश सरकारको मिति २०८१ फागुन ११ गतेको मन्त्रि परिषद्को बैठकले ३० करोड रुपैयाँको लागतमा केन्द्रिय समपुरक योजनामा राख्ने गरि निर्णय भएको र राष्ट्रिय योजना आयोगमा सिफारिस गरिएको थियो । राष्ट्रिय योजना आयोगले प्रदेशको सिफारिस बमोजिम निर्णय गरी केन्द्रिय अर्थ मन्त्रालयमा बजेटमा समावेश गर्न सिफारिस गरेको कुरा प्यूठानका सम्पूर्ण आमा वुवा, दाजु भाई दिदि बहिनीहरुमा जानकारी गराउँदछु ।’
‘यस अघि अघिल्लो सरकारमा म मन्त्री रहँदा प्रदेश मन्त्री परिषद्को बैठकबाट मेरै प्रस्तावमा बाहाने स्याउलीबाङको सडकका लागि ४२ करोड १५ लाख रुपैयाँ केन्द्रीय समपुरकमा प्रस्ताव गरिएको र अहिले सो काम भैरहेको छ ।’

