प्यूठान । ऐरावती गाउँपालिकामा बिहिवारदेखि प्लम्बर हेल्पर तथा डकर्मी तालिम सुरु भएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बैदेशिक रोजगार बोर्डको सचिवालयको आयोजनामा एक महिने तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै ऐरावती गाउँपालिकाका अध्यक्ष नबिलबिक्रम शाहले सिपले आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने बताए । पालिकाले बिभिन्न सीपमुलक तालिम दिएपनि प्रभावकारी नभएकाले राम्रोसगँ तालिम लिन आग्रह गरे ।
‘हामीले तालिम त दियौँ तर आफुले सिकेको सीप ब्यबहारमा लागु गरेन्न’ उनले भने,‘त्यसकारण सीपलाई ब्यबहारमा उतार्न सक्नुपर्छ ।’ आफुलाई दक्ष बनाउन सहभागीले अनुशासित भएर तालिमबाट सीप सिक्न आग्रह अध्यक्ष शाहको आग्रह छ । काम र पेशा सानोठुलो नहुने भन्दै सीप सिकेर आत्मनिर्भर बन्नुपर्ने उनको धारणा छ ।
तालिमले बढ्दो बेरोजगारीको समस्या कम गर्न सहयोग पुग्ने ऐरावती गाउँपालिका वडा नं. ६ का वडा सदस्य रेशम थापाले बताए । ‘अहिले गाउँमा दक्ष जनशक्ति नै छैन्न’ उनले भने,‘यस्ता किसिमका तालिमले गाउँमै रोजगारी सिर्जना गर्छन ।’ तालिमामा पालिका छ वटै वडाका प्लम्बर र डकर्मी तर्फ २०/२० गरि ४० जनाको सहभागिता रहेको छ ।

