प्यूठान । प्यूठानमा ८० बर्ष माथिका ज्येष्ठ नागरिक तथा अति अशक्त क र ख बर्गका नागरिकहरुको स्वास्थ्य परिक्षण अभियान सञ्चालन हुने भएको छ ।
स्थानीय तहहरुसगँको सहकार्यमा स्वास्थ्य कार्यालय प्यूठानले पुस ११ गते देखि १७ गते सम्म सप्ताहब्यापी कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ । ज्येष्ठ नागरिक तथा अशक्तको घरमा पुगि उनीहरुको स्वास्थ्य परिक्षण,परामर्श तथा रेफर, आबश्यक औषधी बितरण गरिने स्वास्थ्य कार्यालय प्यूठानका निमित्त प्रमुख मधुसूदन खड्काले जानकारी दिए । परिक्षणका क्रममा त्यस्को तथ्यांक ब्यबस्थापन, परिक्षणमा जादा स्वास्थ्यकर्मीका लागि दिइने सेवा सुबिधाका बिषयमा ९ वटा स्थानीय तह स्वास्थ्य शाखा प्रमुखहरुका लागि जानकारी दिइएको छ ।
स्वास्थ्य कार्यालय प्यूठानमा आइतबार भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीले अभियान पुर्ण सफलताको शुभकामना दिए । कार्यक्रममा पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले स्वास्थ्यले तयार गरेको सफ्टवेयरले सेवाग्राहीसम्म पुगे नपुगेको एकिङ हुनुका साथै त्यसबाट तथ्यांक ब्यबस्थापन र सहायता सामग्री दिन पर्ने, नपर्ने जस्ता कुरामा सजिलो हुने बताएका छन । स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा स्थानीय सरकारसगँको सहकार्यमा गरिने कार्यक्रम उपयोगी हुने बताए ।
कार्यक्रममा राष्ट्रिय अपांग सेवा संघका केन्द्रीय सदस्य जुमानसिंह केसी , ज्येष्ठ नागरिक तथा अनाथ सेवा सङका शालिग्राम पण्डितले अभियान सफलताको शुभकामना दिएका थिए । सेवाबाट प्यूठानका ४ हजार ३२५ जना लाभान्वित हुने कार्यालयले जनाएको छ ।

