प्यूठान । नेकपा (एमाले) प्यूठान अन्र्तगत पालिका कमिटीहरुको अधिवेशनको सरगर्मी बढेको छ । मंसिर ८ गतेदेखि १५ गतेसम्म पालिका अधिवेशन सम्पन्न गर्ने गरि मिति तय भएको नेकपा (एमाले) प्यूठानको प्रचार विभागले जनाएको छ ।
मंसिर ८ गते झिमरुक गाउँपालिका, मंसिर १० गते सरुमारानी गाउँपालिका, मंसिर १२ गते माण्डवी गाउँपालिका, मंसिर १३ गते गौमुखी गाउँपालिका, मंसिर १४ गते नौबहिनी गाउँपालिका र मल्लरानी गाउँपालिका, मंसिर १५ गते स्वर्गद्वारी नगरपालिकाको अधिवेशनको मिति तय भएको प्रचार विभाग प्रमुख इश्वरा आचार्यले बताइन। प्यूठान नगरपालिकाको यसअघि नै अधिवेशन सम्पन्न भएको र ऐरावती गाउँपालिकाको मिति तय भइनसकेको आचार्यको भनाइ छ । अहिले वडा अधिवेशनहरु धमाधम भइरहेको पार्टीले जनाएको छ।
यसैबीच, प्रचार विभागको शुक्रबार बसेको बैठकले पालिका अधिवेशनको प्रचार प्रसारलाई तीव्रता दिने निर्णय गरेको छ । इश्वरा आचार्यको अध्यक्षता एवं नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानका अध्यक्ष विजय विराज विष्टको प्रमुख आतिथ्यतामा बसेको बैठकले अधिवेशनका गतिविधिलाई व्यापक रुपमा प्रचार प्रसार गर्ने निर्णय गरेको हो ।

