प्यूठान । प्यूठानको ६३ वटै वडामा राष्ट्रिय प्रशारण लाइनको बिद्युत पुगेको छ । जिल्लाका ६४ वटा वडामध्ये नौबहिनी गाउँपालिका वडा नं. १ स्याउलीबाङ र गौमुखी गाउँपालिका ३ रजवाराको केहि ठाउँ बाहेकका सबै वडामा बिद्युत सेवा बिस्तार भएको नेपाल बिद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रले बताएको छ ।
सबै नागरिकको घर उज्यालो बनाउने उद्देश्यका साथ अहिले काम भइरहेको कार्यालयले जनाएको छ । अहिले गौमुखी गाउँपालिका ३ रजवारामा लाईन बिस्तारको काम भइरहेको नेपाल बिद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासले बताए । ‘प्यूठानका सबै वडामा बिद्युत पु¥याउन हामी लागिपरिरहेका छौँ’ उनले भने,‘मंसिर महिनाभित्र बिद्युत नपुगेका ठाउँमा बिद्युत पु¥याउछौँ ।’
प्यूठानलाई मंसिरभित्र पूर्ण बिद्युतीकरण भएको जिल्ला बनाउने प्रमुख दासको भनाई छ । उनका अनुसार नौबहिनी गाउँपालिका १ र गौमुखी गाउँपालिका ३ मा बिद्युत लाइन बिस्तारका लागी ठेक्का भई काम अगाडी बढेको छ । मंसिरभित्र लाईन बिस्तारको काम सक्ने योजना रहेको दासको भनाई छ । प्यूठानमा हालसम्म ५८ हजार घरधुरीमा बिद्युत सेवा पुगेको छ ।

