प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार सांसद् सूर्य थापा नेतृत्वको विशेष छानबिन समितिले गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई कानून बमोजिम कारबाही गर्न गरेको सिफारिसका आधारमा पुरक अभियोग लैजाने तयारी थालिएको हो ।
छानबिन समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिनको प्रतिवेदन सोमबार संसद्मा बुझाएको थियो । लगत्तै सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारसमक्ष पठाउन सचिवालयलाई निर्देश गरेका थिए । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।
गृह मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीविरुद्ध पूरक अभियोग लैजाने तयारी गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।

