प्यूठान । प्यूठानमा सार्वजनिक यातायातको जिल्ला भाडादर निर्धारण हुन सकेको छैन । ग्रामिण क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर २०७२ सालमा निर्धारण भएको थियो । प्रत्येक बर्ष नयाँ भाडादर निर्धारण गर्नुपर्ने भएपनि जिल्लामा भाडादर निर्धारण भएको ९ बर्षसम्म पनि नयाँ भाडादर कायम हुन सकेको छैन् । जिल्लाका ग्रामिण क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर निर्धारण नहुदाँ यात्रुहरु मारमा परेका छन् ।
लामो समयसम्म भाडादर निर्धारण नहुँदा यातायात ब्यावसायीले आफैँ भाडादर निर्धारण गर्ने गरेका छन् । जिल्ला भाडादर कायम नहुँदा ग्रामिण क्षेत्रमा सञ्चालित याताायात ब्यावसायीले प्रतिकिलोमिटर १८ रुपैयासम्म भाडा लिने गरेका छ । ब्यावसायीले बाग्दुलादेखि लुप्लुङ्गसम्म ११ किलोमिटरको भाडा २ सय रुपैया लिने गरेको नौबहिनी गाउँपालिका ८ लुप्लुङ्गकी रिमा भण्डारीले बताइन् ।
सार्वजनिक यातायातको भाडादर निर्धारण नहुँदा कच्ची सडकको भाडा कति हो भन्ने एकिङ नभएको उनी बताउँछिन् । जसका कारण यात्रुले सहचालकले जति भाडा माग्यो त्यति तिर्ने गरे उनले बताईन् । ‘बाग्दुलादेखि यहाँसम्मको भाडा एकिङ छैन,हामीसगँ जति भाडा माग्छन त्यति दिन्छौँ’ उनले भनिन्,‘जिल्ला भाडादर निर्धारण नहुँदा यात्रु मारमा परेका छौँ ।’
सम्बन्धित निकायले भाडादर निर्धारण नगर्दा आफुहरुलाई पनि समस्या भएको स्वर्गद्वारी गौमुखी यातायात प्रा.लि.का अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए । ‘जिल्लामा भाडादर निर्धारण नहुँदा आफुहरुले तेल, पार्टसपुर्जा, सडकको अबस्था हेरेर भाडा निर्धारण गरेका छौँ’ उनले भने,‘अब चाडौँ नै भाडादर निर्धारण हुनुपर्छ ।’
प्यूठानमा अब केहि दिनभित्रै ग्रामिण रुटमा सञ्चालित यातायातको भाडादर निर्धारण गर्ने तयारी गरेको प्यूठानका प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले बताइन् । ‘सार्वजनिक यातायातको प्रत्येक बर्ष भाडा निर्धारण गर्नुपर्ने हुन्छ तर यहाँ भएको रहेनछ’ उनले भनिन्,‘भाडादर निर्धारणका लागी जिल्लाका सरोकारवाला निकायसगँ छलफल गरेको छुँ, अब केहि समयमै भाडा निर्धारण हुन्छ ।’

