प्यूठान । दशैं भन्दा बित्तिकै तपाईँको मन के आउँछ ? साथी तथा आफन्तसगँ भेट,मिठा खानेकुरा,पिङ या अरु ..अरु… ।
हो दशैं भन्दा सबैको मनमा पिङ,रातो माटोले पोतेको घरको याद आउँछ । पहिला गाउँघर तथा चोकहरुमा लिङ्गे,रोटे पिङ देख्न सकिन्थ्यो । दशैं सुरु हुनुभन्दा एक हप्ता पहिलेदेखि नै चोक,चौताराहरुमा पिङ बनाउनेको लर्काे हुन्थ्यो । तर अहिले यस्ता पिङ हराउदै जान थालेका छन् । बुढापाकाहरुमा दशैंमा एक पटक भएपनि भुँई छोड्नुपर्ने मान्यता थियो । तर अहिलेका पुस्ताहरु आधुनिक संस्कार र संस्कृती तिर ढल्किदा पिङ हाल्ने परम्परा हराउँदै गएको हो ।
केही वर्षअघिसम्म दसैँ, तिहारजस्ता चाडपर्वमा गाउँ शहर जताततै लिङ्गे पिङ हालिन्थ्यो, आआफ्ना साथीभाइ, दौतरीसँग भेला भएर चचहुइई गर्दै पिङमा मच्चिएर रमाइलो गरिन्थ्यो तर पछिल्लो समय गाउँगाउँमा खेलिने लिङ्गे, रोटे पिङको चलन बिस्तारै हराउँदै गएकोप्रति प्यूठानका ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकको दुखेसो छ ।
दसैँका बेला गाउँका चौतारी, दोबाटो र डाँडामा जम्मा भएर सामूहिक लिङ्गे पिङ खेल्ने र रमाइलो गर्ने परम्परा बिस्तारै हराउँदै गएको झिमरुक गाउँपालिका ४ का देबिसिंह जिसी बताउँछन् । ‘चौर,चौतारामा साथीभाई जम्माभई पिङ हाल्ने गर्दथ्यौ तर अहिल कतै पिङ देखिदैन्न’ उनले भने,‘मौलिक परम्पराहरु युवाहरुले भुल्दै जान थालेका छन् ।’
तन्नेरी हुँदा खरबारीमा गई बाबियो काटेर ल्याउने र पाको मान्छेलाई बाबियाको डोरी बाट्न लगाई, बाँस वा जङ्गलबाट काठ ल्याएर खावा हालेर मज्जाले पिङ खेल्ने गरेको पाका पुस्ताको अनुभब छ । तर अहिले पुस्ता त पिङ नभइ, मोबाइलमा भुल्ने गरेको जीसी बताउँछन् ।
गाउँघरका युवादेखि बुढापाका मिलेर खरबारीमा गई बाबियो काटेर रातमा पिङको लुठो बाटेर दिनमा बाँसको चारवटा लिङ्गा गाडेर अथवा पीपल आदि ठूलो रुखको हागाँमा पिङ बनाउने गरिन्थ्यो। दसैँको सुरुआतदेखि हालेको पिङ तिहारसम्मै राखिन्थ्यो तर गाउँ घरका युवा रोजगारीका लागि विदेशिन थालेपछि दसैँमा रौनक थप्ने लिङ्गे पिङ खेल्ने संस्कृति हराउँदै गएको स्थानीयवासीको भनाइ छ। आवश्यक सामग्री र बनाउने मान्छेको कमी छ। दक्ष जनशक्तिको अभावका कारण पनि पिङ संस्कृति हराउँदै गएको छ ।

