प्यूठान । ३३ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको मदन भण्डारी राजमार्ग अन्तरगत सिमलटारी(गुल्मी)–सौतामारे–मच्छी(प्यूठान) सडकखण्ड तोकिएको मितिमा सम्पन्न नहुने भएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण समयमै सडक निर्माण नसकिने पक्का भएको छ ।
सिमलटारी(गुल्मी)–सौतामारे–मच्छी सम्म ३१.८ किलोमिटरको भौतिक प्रगति १५ प्रतिशत भएको छ । ३३ महिनामा सम्पन्न गर्ने गरी २०७९ कात्तिक ६ गते श्रेष्ठ÷सक्षम जेभीसगँ १ अर्ब ४५ करोडमा सम्झौता भएको थियो । तर सम्झौता सकिने १० महिना बाँकी हुदाँ समेत निर्माण कम्पनीले ढिलासुस्ती गरेको छ ।
योजना तोकिएकै मितिमा सम्पन्न गर्ने ठेकेदार कम्पनीसगँ छलफल गरेपनि काम नभएको झिमरुकबासी बताउँछन् । आयोजनाको काम प्यूठानतिरबाट सुरु गर्दा प्रगति राम्रो देखिने, निर्माण सामाग्री पुर्याउन समेत सजिलो हुने सुझाव राखेपनी बिभिन्न बाहाना बनाएर ठेकेदारले काम नै अघि नबढाएको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर एमसीले बताए ।
‘सडक निर्माणको काम कछुवाको गति छ जसका कारण तीन जिल्लाका नागरिकले दुःख झेल्न बाध्यछन’ उनले भने,‘हामीले धेरै कुरामा सहजिकरण गर्दा पनि कम्पनीले वेवास्ता गरेको छ ।’ पटक–पटक ताकेता गर्दा पनि वर्क सिडुल अनुसार काम नभएको आयोजना कार्यालयका इन्जिनियर दिपक बि.क.ले बताए । कामलाइ गति दिन तीन पटक पत्र नै लेखेको र पटक–पटक आयोजना निर्देशनालय, प्रतिनिधि सभा सदस्य सुर्य थापा र ठकेदार कम्पनीका प्रमुख डम्बर खड्कासङ्ग छलफल समेत भएको उनले बताए । कम्पनीले अहिलेसम्म २५ करोड भुत्तानी लगिसकेको छ । समयमा भुत्तानी नभएको र नदिजन्य समाग्रीको अभावले निर्माण कार्यमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि दिपेन्द्र कुमार ठाकुरले बताए ।

