मच्छि । झिमरुक, गौमुखी गाउँपालिका पहुँच मार्ग सडक निर्माण कार्य अगाडी बढ्ने भएको छ । बाग्दुला–मच्छी–ठुलाबेसी सडकलाई दुई लेन हुने गरी सडक स्तरोन्नतीको काम हुन लागेको हो । यो सडक अन्तर्गत बिभिन्न खण्डमा केन्द्र, प्रदेश तथा स्थानीय सरकारले लगानी गरी सडक स्तरोन्नती गर्न थालिएको हो ।
भारतीय एक्जिम बैंकको सहुलियत ऋणमा निर्माण गर्ने भनिएको यो सडक निर्माणको बारेमा अन्योलता बढेपछि तीन तहका सरकारले यो सडकको स्तरोन्नती गर्न थालेका हुन् । यो सडकलाई दुई लेनको बनाउने गरी काम अगाडी बढेको छ । पहिलो खण्ड अन्तर्गत बाग्दुलादेखि हाडीगैरामा करिब ७ सय मिटर कालोपत्र सहितको सडक निर्माणका लागी सडक डिभिजन कार्यालय प्यूठानले १ करोड रुपैयामा ठेक्का लगाएको छ ।
त्यस्तै हाडीगैरादेखि बतासे डाँडासम्म सडक पूर्वाधार कार्यालयले ५ करोडको बहुबर्षिय ठेक्का स्विकृत गरी काम अगाडी बढाएको कार्यालयले बताएको छ । सोहि सडकखण्ड अनतर्गत बतासे डाँडादेखि मच्छीसम्मको सडक स्तरोन्नतीका लागी झिमरुक गाउँपालिकाले डिजाइन स्टिमेटको काम गरिरहेको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले बताए ।
बतासे डाँडादेखि मच्छीसम्म करिब ७ किलोमिटर सडकखण्ड निर्माणका लागी गाउँपालिकाले चालु आ.ब.को लागी ३ करोड विनियोजन गरेको पोख्रेलले जानकारी दिए । “२ बर्षमा सक्ने गरी सडक निर्माणका लागी ठेक्का निकाल्ने तयारी गरेका हौँ” उनले भने,“अहिले सडकको डिजाइन स्टिमेट भइरहेको छ ।” त्यस्तै बाग्दुला–मच्छी–ठुलाबेसी सडकखण्ड अन्र्तगत जिम्मुरखोला मच्छी दमदमे खण्डमा सघन सहरी विकास कार्यालयले १ करोडको लगानीमा कालोपत्र सहित तथा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयले १ करोड रुपैयामा मच्छी दमदमे हरियाखोलासम्म सडक स्तरोन्नतीको काम अगाडी बढेको छ ।
झिमरुक, गौमुखी गाउँपालिका पहुँच मार्ग निर्माणका लागी प्यूठानका तीन पालिकाबीच छलफल भएको छ । प्यूठान नगरपालिका,झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकाबीच बाग्दुला–मच्छी–ठुलाबेसी सडक स्तरोन्नती गर्न बिहिबार झिमरुक गाउँपालिकाको कार्यालयमा छलफल भएको हो ।
भारतीय एक्जिम बैंकको सहुलियत ऋणमा निर्माण गर्ने भनिएको यो सडक कहिले निर्माण सुरु हुने भन्ने अन्योलता रहेका बेला तीन पालिकाले छलफल गरेका छन् । जिल्लाको पुरानो तथा ब्यस्तमध्येको एक हो । पुरानो सडक भएपनि स्तरोन्नती नहुदाँ झिमरुक र गौमुखीका साथै छिमेकी जिल्ला अर्घाखाँची र गुल्मीका नागरिकले सास्ती भोग्दै आएका छन् । यो सडक बर्खामा हिलाम्मे र हिउँम धुलाम्मे हुने गरेका छन जसका कारण सडक दुर्घटनाको जोखिम बढेको छ ।

