प्यूठान । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतक नीमा गिरीले सोमबार पदबाट राजीनामा दिएकी छन् । उनले आफूले समय दिन नसकेको बताउँदै दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष सोमबार राजीनामा बुझाएको बताइन् ।पार्टी, संसद तथा सरकारमा समावेशीको आवाज उठाइरहेकी सांसद गिरीको राजीनामाले कांग्रेसभित्र थप विवाद बढेको प्रष्ट हुन्छ । सो पार्टीका २७ सांसदमध्ये महिलाबाट ९ सांसद रहेकोमा उनीहरुमध्येबाट मन्त्रीमा समेटिनुपर्ने माग गर्दै गिरीकै नेतृत्वमा आइतबार संसदीय दलका नेतालाई दवावसहितको पत्र बुझाइएको थियो । प्यूठानबाट समानुपातिक सांसद बनेकी उनी कानुन अध्ययन गरेकाले पनि धेरै विषयमा ज्ञान रहेको छ । यसअघि उनी गठबन्धनबाट मन्त्री आकांक्षी भए पनि भागवण्डामा परिनन् । संसदीय दलमा संस्थापन समूहको बहुमत रहेको र उनी इतर समूहमा रहेकाले नसमेटिएको विषय बाहिर आएको थियो ।

