प्यूठान । मल्लरानी पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्धनका लागि तेस्रो खाना महोत्सव हुने भएको छ । प्युठान उद्योग बाणिज्य सङ्घ मल्लरानी बजार क्षेत्रको आयोजनामा चैत ३१ गतेदेखि वैशाख २ गतेसम्म सदरमुकाम खलङ्गाको शिरमा रहेको पर्यटकीय क्षेत्र मल्लरानी डाँडामा महोत्सव हुन लागेको हो ।
महोत्सवमा स्थानीय उत्पादनका अर्गानिक खानाका परिकारहरु, नेवारी खानाका परिकारहरु, स्थानीय जातका कुखुरा, हाँस, खसिबोका, राँगा, बङ्गुर, बदेल, कालिजका विविध परिकारहरु, चाडपर्व विशेषमा बनाइने खानाका परिकारहरु, चामल, कोदो, मकै, जौ, गहुँका विविध परिकारहरु उपलब्ध हुने महोत्सव मुल समारोह समितिका संयोजक तथा बजार क्षेत्रका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा स्थानीय कला संस्कृतिको प्रदर्शनी सहित स्थानीय तथा ख्यातिप्राप्त कलाकारहरुले सांस्कृतिक तथा हास्यव्यंग्य प्रहसन प्रस्तुत गर्नेछन ।

