प्यूठान । खलंगा प्राथमिक स्वास्थ्य केन्द्रले डिउटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जोडेर एक अनलाईन टिभीमा प्रशारण गरिएको सामाग्रीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयले डिउटमा रहेका चिकित्सक तथा सस्थाकर्मीहरुमाथि आक्रमण,धम्कीपूर्ण तथा अभद्र ब्यबहार देखाएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
अहोरात्र बिरामीको सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कुनै तयारी बिना अस्वभाबिक प्रश्न सोधेको तथा जवाफ दिन नसक्दा पत्रकारिताको नाममा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी अर्मयादित तथा अभद्र ब्यबहार गरेको कार्यालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरेको छ । साथै स्वास्थ्य संस्थाका कुनैपनि कर्मचारी तथा पदाधिकारीसगँ अनुमति नलिइ संबेदनशील कक्षमा प्रबेश गरी ब्यक्तिगत तथा संस्थाको समेत चरित्र हत्या गर्ने सञ्चारकर्मीलाई कारवाहीको माग समेत गरेको छ ।
समाचार संकलनको नाममा पत्रकारिताको आचारसंहिता भन्दा बाहिर गएर चर्चाका लागी यस्तो कार्य भएको र जसले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोवल समेत खस्किएको खलंगा प्राथमिक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष कुमार श्रेष्ठले बताए । ‘पत्रकारले कुनैपनि संस्थामा समाचार संकलन गर्न कुनै रोकछेक छैन तर चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोवल गिराउने गरी समाचार संकलन गर्न पाइदैन’ श्रेष्ठले भने ।
घटना घटेको ११ दिनपछि मात्र खलंगा प्राथमिक स्वास्थ्य केन्द्रले विज्ञप्ती जारी गर्नुलाई अर्थपूर्ण रुपमा लिएको छ । घटना १६ गते साझँ भएको र घटना घटेको ५ दिनपछि थाहा भएको अध्यक्ष श्रेष्ठले बताए । हामीले ढिलो थाहा पाएको र तीज भएका कारण थाहा पाउँदा बित्तिकै बैठक बस्न नसकेका कारण हिजोमात्रै विज्ञप्ती जारी गरेको उनको भनाई छ । ‘प्रसुती कक्ष जस्तो संबेदनशील कक्षमा पुगेर यस्तो काम गर्न पाइदैन त्यसमाथि पनि स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीको डिउटी सिफ्ट अनुसार हुन्छ’ श्रेष्ठले भने,‘समाचार संकलन गर्दा कार्यालयको बारेमा सामान्य जानकारी लिनुपर्ने भएपनि त्यसो भएन ।’

