दाङ–लुम्बिनी प्रदेशमा पहिलो पटक संकल्प प्रस्ताव दर्ता भएको छ । प्रदेशमा हुने सडक दुर्घटना रोकथाम गरी जिउधनको सुरक्षा र क्षति न्यूनिकरणको व्यवस्थाबारे पहिलो पटक संकल्प प्रस्ताव दर्ता गरिएको हो । नेपाली कांग्रेसका सचेतक निमा गिरी प्रस्तावक, नेकपा माओवादी केन्द्रका सचेतक कृष्णा कुश्मा थारु र जसपा नेपालका प्रदेश सभा सदस्य अम्बिका काफ्ले समर्थक रहेको संकल्प प्रस्ताव शुक्रबार प्रदेश सभा सचिवालयमा दर्ता भएको हो । लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ८४ बमोजिम संकल्प प्रस्ताव दर्ता गरेर सभामुख तुलाराम घर्तीमगरलाई बुझाइएको छ। संकल्प प्रस्ताव सदनमा पेश हुने र त्यहाँ छलफल गरेर संकल्प प्रस्ताव माथी निर्णय गरिने प्रदेश सभा नियमावलीमा उल्लेख छ।
२०७७ देखि २०७९÷२०८० त्रीबर्षिय सवारी दुर्घटना विवरण अनुसार लुम्बिनी प्रदेशमा एक हजार पाँचसय ३९ जनाको मृत्यु भएको छ भने तीन हजार पाँच घाईते भएका छन्। एक बर्षमा मात्रै तीन सय ६७ जनाको मृत्यु भएको छ भने सात सय ७९ जना गम्भीर घाइते भएको तथ्यांकमा उल्लेख छ। सड़क दुर्घटना पश्चात समयमै उपचार नपाउने, उपचार पाएपनि उपचार महंगो हुने र लामो समय उपचार गर्नुपर्ने, दुर्घटना पीडितले अत्यन्तै शारिरिक र मानसिक कष्ट पाउने, दुर्घटनाका पीडित र पीडितको परिवार सडक दुर्घटनाको कारण विक्षिप्त बन्ने अवस्था छ।
दुर्घटनाको कारण र समयमै उपचार नपाउदा व्यक्ति जीवन भर अपांगता भएर बस्नु पर्ने अवस्था समेत छ। लुम्बिनी प्रदेशभित्र सडक दुर्घनाका पीडितको लागि आकस्मिक उपचार, निःशुल्क उपचारको व्यवस्था र दुर्घटनाको द्रुत गतिमा उद्दारको लागि आवश्यक संयन्त्रको विकास तथा दुर्घटनाको पीडिले आफ्नो जीवन यापन सहज तरिकाले बाच्न सक्ने गरी क्षतिपूर्तिको व्यबस्था समेत हुनुपर्ने माग राख्दै संकल्प प्रस्ताव दर्ता गरिएको हो। देश सञ्चार

