सागर रिजाल प्यूठान । प्यूठान नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति, कार्यक्रम बजेट तर्जुमा सम्वन्धमा राय तथा सुझाव संकलन गरेको छ । नगरपालिकाले आईतबार आयुष्मा होटल जुम्रीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी नीति, कार्यक्रम बजेट तर्जुमा सम्वन्धी राय सुझाव संकलन गरेको हो ।
कार्यक्रममा सहभागीहरुले नगरपालिकाले प्राथमिकीकरण गर्नुपर्ने योजनाका बारेमाा सुझाव दिएका थिए । उनीहरुले प्यूठान नगरले गौरवको योजना अगाडि बढाउनुपर्ने, जनताले तत्काल लाभ हासिल गर्ने परिणाममुखी योजनाहरुलाई प्राथमिकता दिनुपर्ने, रोजगारी सिर्जना हुने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने लगायतका सुझाव दिएका छन ।

सहभागिहरुले राखेका राय सुझावहरु टिपोट गरी राखिएकाले उक्त सुझावहरुलाई नगरपालिकाको कार्यपालिका बैठकमा प्रस्तुत गरी बिशेष छलफल गरी जनस्तरबाट आएका महत्वपूर्ण राय सुझावहरुलाई समेट्दै आ.व.०८१/०८२ को लागि वार्षिक नीति तथा बजेट ल्याउने नगर प्रमुख बिष्णु बहादुर योगीले बताउनुभयो । प्यूठान नगरपालिकाका प्रमुख विष्णुबहादुर योगीको अध्यक्षतामा आयोजित अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद भण्डारीले हालका जनप्रतिनिधिको गत २ वर्षको कार्यकालमा भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले विषय बस्तु प्रवेश तथा उद्देश्यमाथि प्रकाश पारेको अन्तरक्रियामा पूर्व जनप्रतिनिधिदेखि लिएर, राजनीतिक दल, शिक्षा, स्वास्थ्यसँग सम्वद्ध व्यक्ति, निजी क्षेत्र, गैसस, समाजसेवी लगायत सञ्चारकर्मीको समेत सहभागिता रहेको थियो ।

