प्यूठान । जिल्लाको मल्लरानी गाउँपालिकाले किसानलाई उत्पादनमा आधारित अनुदान दिन थालेको छ । यसभन्दा पहिला किसानलाई अनुदान दिदै आएको पालिकाले यस बर्षदेखि उत्पादनका आधारमा किसानलाई अनुदान दिन थालेको हो । सरकारले दिदै आएको अनुदान दुरुपयोग हुदै आएको भन्ने जनगुनासो बढेपछि किसानलाई उत्पादनका आधारमा अनुदान दिन थालेको मल्लरानी गाउँपालिकाले बताएको छ । अनुदानमा किसान भन्दापनि गैर किसानको हालीमुहाली बढ्दै गएपछि यस्तो कार्यक्रम ल्याएको मल्लरानी गाउँपालिकाकमा उपाध्यक्ष रमेश कुमार श्रेष्ठले बताए ।
गाउँपालिकाले चालु आर्थिक बर्षको बजेटमा कार्यक्रम समाबेश गरेर कार्यान्वयन गरेको हो । पालिकाले तरकारी, पशुपालन तथा पशुजन्य कृषि उत्पादनमा अनुदान दिने गरेको छ । गाउँपालिकाले दुधमा प्रतिलिटर पाँच रुपैया, तरकारीमा प्रतिकेजी १० रुपैया तथा खसी बोकामा प्रति केजी ५० रुपैया अनुदान दिएको मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले बताए । ‘हामीले उत्पादनमा बृद्धि गरी कृषकलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउन यो कार्यक्रम ल्याएका हौँ’ उनले भने,‘यो कार्यक्रमले बास्तबिक किसानलाई फाईदा पुग्नेछ ।’
पालिकाको उत्पादनमा आधारित अनुदान कार्यक्रमले किसानलाई प्रोत्साहन हुने पालिकाको अपेक्षा छ । पछिल्लो समय युवाहरु बिदेश पलायन भैरहदा गाउँको कृषि योग्य जमिन बाझिँदै जाने र उत्पादन भएको कृषि उपजले बजार नपाउँदा किसानहरु यो पेशामा युवाको आकर्षण घट्दै गएको छ ।
पालिकाले अघिल्ला बर्षहरुमा किसानलाई नगद अनुदानका साथै बीउँ मल तथा उन्नतजातका बोका, बंगुर बितरण गर्दै आएको थियो । तर किसानले अनुदान पाएपछि दुरुपयोग गर्ने गरेका थिए । भने केहि बास्तबिक किसान अनुदानबाट बञ्चित रहदै आएका थिए । जसबाट किसान पलायनको अबस्था आएको छ । यसलाई रोक्न गाउँपालिकाले स्थानीय स्तरमा संकलन केन्द्र सञ्चालन गरी किसानलाई अनुदान दिने गरेको छ । यो कार्यक्रम सञ्चालन पश्चात कृषिमा आकर्षण बढ्नेछ ।
गाउँपापलिकाले उत्पादनका आधारमा अनुदान दिने निर्णय गरेपछि गैर किसान निरुत्साहित भएका छन् । यो कार्यक्रममा लागी गाउँपालिकाले यस बर्ष २ लाख रुपैया बजेट बिनियोजन गरेको उपाध्यक्ष श्रेष्ठले बताए । ‘पालिकाले यो नौलो अभ्यास सुरु गरेकाले बजेट कम बिनियोजन गरेको भएपनि आगामी बर्षदेखि बजेटमा बृद्धि गरी लैजाने योजना छ’ उनले भने ।
त्यस्तै प्यूठान नगरपालिकाले पनि दुधमा किसानलाई अनुदान दिदै आएको छ । नगरपालिकाले किासनलाई प्रति लिटर १० रुपैया दुधमा अनुदान दिदै आएको छ । नगरपालिकाले तोकेको संकलन केन्द्रमा दुध संकलन गरेबापत किसानले अनुदान पाउँछन ।

