प्युठान ।
ऐरावती गाउँपालिकामा १ सय १० जनालाई वडा स्तरबाट राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयय प्यूठानले ऐरावती गाउँपालिकाको समन्वयमा वडा स्तरमै पुगेर परिचयपत्र वितरण गरेको हो । भदौ २७ देखी २९ गते गाउँपालिकाका ६१ जना पुरुष र ४९ जना महिलालाई परिचयपत्र वितरण गरेको जिल्ला प्रशासन कार्यालयय प्यूठानका राष्ट्रिय परिचयपत्र वितरण विवरण दर्ता अपरेटर सुबास बस्नेतले दिए । जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका राष्ट्रिय परिचयपत्रहरुलाई सेवा ग्राहिहरुकै सम्बन्धीत वडामै पुगि वितरण गर्ने अभियान अन्तर्गत ऐरावती गाउँपालिकाका सबै वडाहरुमा वितरण गरेको बताए । बस्नेतका अनुसार वडा नंम्बर १ र ४ मा १९ र १९ जना, वडा नंम्बर २ र ५ मा १५ र १५ जना, ३ र ६ नंम्बर वडामा २१र २१ जनाले राष्ट्रिय परिचयपत्र लिएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा ऐरावती गाउँपालिकाको १ हजार ३६ वटा राष्ट्रिय परिचयपत्र प्राप्त भए १ सय १० जनालाइ मात्रै वितरण गरिएको उनले बताए । “राष्ट्रिय परिचयपत्र बनेर आएका अधिंकाश ब्यक्तिहरु वैदेशिक रोजगारीको लागि बिदेश गएको, केहि पढाइ तथा रोजगारीको शिलशिलामा जिल्ला बाहिर रहेको र परिचयपत्र स्वयंम ब्यक्तिले नै लिनुपर्ने भएकाले प्राप्त भएको सबै परिचयपत्र वितरण गर्न सकिएन” उनले भने ।
सेवा प्रवाहलाई छिटो, छरितो बनाउन ऐरावती गाउँपालिकाबाट वडास्तरमा परिचयपत्र वितरण कार्यको सुरुवात गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी शर्माले बताइन् । सेवाग्राहिको समस्या तथा भौगोलिक अवस्थालाई मध्येनजर गरी घरआँगन बाटै सेवा दिने उद्देश्यका साथ यो कार्यको सुरुवात गरेको बताइन् । पालिकाका अन्य स्थानीय तहमा पनि स्थानीय तहसंग समन्वय गरेर यो कार्यलाई निरन्तरता दिने उनको भनाई छ । वडा स्तरमा परिचयपत्र प्राप्त गर्न पाउँदा परिचयपत्र लिनकै लागि घण्टौं समय र धेरै पैसा खर्च गरेर जिल्ला सदरमुकाम खलंगा जानुपर्ने बाध्यता हटेको भन्दै सेवाग्राहीहरुले खुसी समेत व्यक्त गरेका छन् ।

२७ गते १ र २ नंम्बर वडा, २८ गते ३ र ४ नंम्बर वडा, २९ गते ५ र ६ नंम्बर वडामा परिचयपत्र वितरण गरिएको थियो । जिल्ला प्रशासन कार्यालय प्युठानका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी शर्मा, ऐरावती गाउँपालिकाका जनप्रतिनिधि,प्युठान जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ईश्वर थापा, जनप्रतिनीधि, कर्मचारी लगाएतको उपस्थितीमा परिचय पत्र वितरण गरिएको हो ।


