सागर रिजाल प्यूठान ।
ऐरावती गाउँपालिकामा दलित सशक्तिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न छ । ऐरावती गाउँपालिकाको आयोजनामा दलितका हक,अधिकार संरक्षण सम्बन्धी कानुनी ब्यवस्थाको बारेमा आज गाउँपालिकाको सभाहलमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो । गाउँपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार लक्षित समुह अन्तर्गत कानुनी ब्यवस्था लगायत अन्य महत्वपूर्ण बिषयमा प्रशिक्षण दिई दलित समुदायलाई सशक्तिकरण गर्न कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला न्यायधिस पुनाराम खनाल, जिल्ला अदाल प्यूठानका श्रेस्तेदार गणेश प्रसाद गौतम, जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख तथा प्रहरी नायव उपरीक्षक ईश्वर थापाले दलित सशक्तिकरण, दलितका हक,अधिकार संरक्षण सम्बन्धी संविधानमा कानुनी ब्यवस्था, जातिय छुवाछुत लगायत अन्य विभेदमा दलितको अवस्था लगायतका महत्वपूर्ण बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला न्यायधिस पुनाराम खनालले अहिले जिल्लामा जातिय छुवाछुतको कुनै उजुरी नपरेको बताउनुभयो । नेपालको संविधान धारा २४ मा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हकको ब्यवस्था गरेको बताउनुभएको थियो । जिल्लामा जातिय छुवाछुतको कुनै उजुरी नपर्नु राम्रो पक्ष भएको बताउदै नेपाली समाजमा विद्यमान पुरातन सोच, परम्परा,रुढीवादी अशिक्षा, एवम् न्यून चेतनाका कारण जातीय भेदभाव तथा छुवाछूत प्रथाको पूर्ण अन्त्य हुन नसकेको बताउनुभयो ।न्यायाधिस खनालले गरीबी,आर्थिक विषमता,अशिक्षाका लगायतका कारणले दलित समुदाय अझै पनि आर्थिक, सामाजिक क्षेत्रमा पछाडि परेकाले दलित सशक्तिकरणमा सम्बन्धित निकाय सक्रिय हुन आवश्यक रहेको बताउनुभयो । तीनै तहका सरकारले दलित समुदायको हक,अधिकार,संरक्षणमा जोड दिदै नेतृत्व तथा ब्यक्तित्व बिकास,क्षमता अभिवृद्धि संगै आर्यआर्जन गरी जीवीकोपार्जन गर्न सक्ने खालका दिगो तालिम तथा कार्यक्रम संञ्चालनमा जोड दिए दलित सशक्तीकरणमा टेवा पुग्ने उहाँको भनाइ रहेको थियो ।
यस्तै डिएसपी ईश्वर थापाले छुवाछुत, जिल्लामा दलितका मुद्धाहरुको बिषयमा जानकारी गराउदै आत्महत्या, बहुविवाह, बाल विवाह,जवरजस्तीकरणी,बलात्कार,लगायत अन्य घटनाहरुमा बढि दलित समुदायका बालबालिका तथा ब्यक्तिहरु रहेको बताउनुभयो । डिएसपी थापाले दलित समुदाय छुवाछुतको चपेटाम परेकाले बस्ती तथा समुदाय स्तरमा सचेतना तथा जागरण अभियान सञ्चालन गर्न जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले दलित समुदायको हक,अधिकार,संरक्षणमा जोड दिएको बताउनुभयो । गाउँपालिकाले दलित लक्षित नेतृत्व तथा ब्यक्तित्व बिकास,क्षमता अभिवृद्धि संगै ब्यवसायमा जोडिएर आर्यजार्जन गर्न सक्ने खालका तालिम तथा कार्यक्रम संञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा, वडा नंम्बर २ का वडा अध्यक्ष भिमेश कुमार घर्ती मगर लगायतले आफनो भनाई राख्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष शाहको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन वडा नंम्बर ३ का वडा सचिव लिलामणि सुनारले गर्नु भएको थियो । कार्यक्रमा जनप्रतिनिधि,दलित अधिकारकर्मी, मानव अधिकारकर्मी,समाजसेवी,बुद्धिजीवी,स्थानीय, लगायतको उपस्थिति रहेको थियो ।


