सागर रिजाल,प्यूठान ।
प्यूठान नगरपालिका वडा नंम्बर १० ले जेष्ठ नागरिक तथा उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । वडाले आज एक कार्यक्रमको आयोजना गरि वडा भित्रका ४ जना जेष्ठ नागरिक र २५ जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो । वडाको २०८०/ ८१ को बार्षिक स्वीकृत कार्यक्रम जेष्ठ नागरिक ,बुद्धिजीवी,समाजसेवी, उत्कृष्ट कृषक सम्मान तथा अभिन्नदन कार्यक्रम अन्तर्गत ८० बर्ष माथिका ४ जना जेष्ठ नागरिक, २० जना फलफुल तथा तरकारी उत्पादक कृषक, १ जना बाख्रा पालक कृषक र ४ जना मौरी पालक कृषकलाई सम्मान गरिएको वडा सचिव विनिता विष्टले जानकारी दिनुभयो । जेष्ठ नागरिकलाई १/१ वटा बल्याङकेट,थर्मस, लौरो प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको हो । त्यस्तै उत्कृष्ट कृषकलाई किट्नाशक बिषादी प्रयोग गर्दा स्वास्थ्य सुरक्षाको लागि लगाउने चस्मा,माक्स,गोल्वस,पिपिई सेट, बाख्रालाई घास खुवाउनको लागि प्रयोग गरिने टाट्नो, मौरी काढ्न प्रयोग गरिने चक्कु,ब्रस लगायतका अत्याआवश्यक सामाग्रीहरु प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको वडा सचिव विष्टले जानकारी दिनुभयो । जेष्ठ नागरिक तथा उत्कृष्ट कृषक सम्मान शिर्षकमा वडाबाट १ लाख रुपैंया बजेट विनियोजन गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगीले कृषकलाई उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । जिल्लामा उत्पादन नहुदा फलफुल तथा तरकारी दाङ,बुटवल लगायत अन्य बाहिरी जिल्लाबाट ल्याउनुपर्ने अवस्था रहेकाले यसतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो । नगरपालिकाले कृषि तथा पशुपालनलाई प्रमुख प्राथमिकता दिएको बताउदै कृषकले उत्पादन गरेका बस्तु तथा सेवाको बजारीकरणको लागि नगरपालिकाले सहयोग तथा पहल गर्ने बताउनुभयो ।

यस्तै नगर उप–प्रमुख देवेन्द्र व्रर्माले जेष्ठ नागरिक तथा कृषक सम्मानको लागि नगरपालिकाले बिभिन्न कार्यक्रमहरु संञ्चालन गदै आएको बताउनुभयो । यस बर्ष पनि नगरपालिकाले जेष्ठ नागरिक तथा उत्कृष्ट कृषक सम्मान गरेको बताउनुभयो । उप–प्रमुख ब्रर्माले कृषकलाई प्रोत्साहन गर्नका निम्त्ति नगरपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम संञ्चालन गरेको बताउनुभयो । यो कार्यक्रम मार्फत,दुध,तरकारी,खसिबोका लगायत अन्य कृषि उपजमा उत्पादनको आधारमा लिटर तथा प्रतिकेजीमा अनुदान दिदै आएको बताउनुभयो ।
जेष्ठ नागरिक तथा उत्कृष्ट कृषकहरुलाई सम्मान गरि हौसला प्रदान गदै ब्यवसायिक खेतीमा लाग्न अभिप्रेरित गर्न सम्मान कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष लोक बहादुर के.सी.ले बताउनुभयो ।
प्यूठान नगरपालिका वडा न. १० वडाका वडा अध्यक्ष लोक बहादुर के.सी.को अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्यूठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगीको प्रमुख तथा नगर उप–प्रमुख देवेन्द्रको बिशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि,कृषक, स्थानीय,समाजसेवी,बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संञ्चालन वडा सचिव बिनिता बिष्टले गर्नुभएको थियो ।

