रविन विश्वकर्मा,प्यूठान ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा प्युठानले बिरामीलाई फलफुल बितरण गरेको छ । शाखाले राष्ट्रिय दलित पत्रकार संघ नेपालको पाचौं स्थापना दिवसको अवसरमा आज शुभकामना आदान प्रदानसंगै प्युठान अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय विराज विष्टले दलित तथा गैर दलित पत्रकारहरुले हरेक प्रकारका विभेद विरुद्ध कलमको माध्यमद्वारा सशक्त रुपमा आवाज उठाउनुपर्ने बताउनुभयो । परम्परागत रुढीवादी तथा चेतना स्तरमा परिवर्तन नहुदा दलित समुदाय अझै अपि जातिय छुवाछूत तथा विभेदको चपेटामा परेको बताउनुभयो ।
अध्यक्ष विष्टले नेपालको संविधानले नै जातिय छुवाछूत तथा विभेद विरुद्ध कानुनी रुपमा ब्यवस्था गरेको बताउँदै राष्ट्रिय दलित पत्रकार संघ दलित समुदायको हक ,हित तथा अधिकार संरक्षणका लागि सशक्त रुपमा अगाडी बढ्न जरुरी रहेको बताउनुभयो । साथै विष्टले अस्पतालको चौतर्फि बिकासका लागि,समुदाय,नागरिक समाज,पत्रकार, संञ्चारकर्मी लगायतको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । अस्पताल लगायत जिल्लाका हरेक क्षेत्रको सकारात्मक तथा नकारात्मक सबै पक्षलाई औल्याउदै सम्बन्धि निकायलाई सेवा प्रवाहमा जवाफदेही बनाउन झगझक्याउनुपर्ने उहाँको भनाइ छ ।
यस्तै जिल्ला अस्पताल बिजुवार प्यूठानका प्रमुख प्रमिला खनालले राष्ट्रिय दलित पत्रकार संघले सामाजिक उत्तरदायित्वसंगै विभिन्न रचनात्मक कार्य गर्दै आएको बताउनुभयो । अस्पतालमा रहेका बिरामीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफुल वितरण गरेकोमा धन्यवाद दिदै आगामी दिनहरुमा अस्पताल तथा बिरामीहरुलाई अझै धेरै सहयोग पुग्ने खालका कार्यक्रम संञ्चालन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा जिल्ला अस्पताल बिजुवार प्यूठानका हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डा। राजेन्द्र पौडेल, प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानका अध्यक्ष बासुदेव गिरी,प्रेस सेन्टर नेपालका जिल्ला शाखा इन्चार्ज हरि प्रसाद भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । साथै कार्यक्रममा बोल्ने वक्ताहरुले राष्ट्रिय दलित पत्रकार संघ नेपालले सुरुवाती चरण देखिनै राम्रो काम गर्दै आएको बताएका छन् । जिल्लामा दलित समुदायको हक अधिकारको संरक्षणका निमित्त उनीहरुको मुद्दा तथा सवालहरुमा निरन्तर बोल्दै आएको बताएका थिए । राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा प्यूठानका उपाध्यक्ष बोम बहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रविन विश्वकर्माले गर्नुभएको थियोे ।

दिवसको अवसरमा ३ जना बिरामीको निःशुल्क शल्यक्रिया
जिल्ला अस्पताल बिजुवार प्युठानले ३ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिदिएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको पाचौं स्थापना दिवसको अवसरमा अस्पतालमा उपचारत ३ जना हाडजोर्नीका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिदिएको अस्पतालले जनाएको छ । आज दिवसको अवसरमा नशा काटिएको ,हात भाचिँएको र हातमा रड राख्नुुपर्ने प्रकृतिका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालका हाडजोर्नी तथा नशा राग बिशेषज्ञ डाक्टर राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा प्युठानले राष्ट्रिय दलित पत्रकार संघ नेपालको पाचौं स्थापना दिवसको अवसरमा बिहान अस्पतालमा शुभकामना आदान प्रदानसंगै बिरामीलाई फलफुल वितरण गरेको थियोे । सोहि अवसरमा शुभकामना मनतब्य राख्दै हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर पौडेलले स्थापना दिवसको अवसरमा अस्पतालमा उपचारत रहेका ३ जना दलित बिरामीको शल्यक्रिया निःशुल्क गरिदिने घोषणा गर्नु भएको थियोे । सोहि अनुसार शल्यक्रिया गरिदिएको उहाँले बताउनुभयो । अन्य दिनहरुमा पनि आर्थिक अवस्था कमजोर भएका दलित तथा गैरदलित बिरामीहरुको शल्यक्रिया निःशुल्क गरिदै आएको बताउनुभयो ।

