रविन विश्वकर्मा,प्यूठान ।
मल्लरानी गाउँपालिकाले ७ जना कृषकलाई उत्पादनमा आधारित अनुदान रकम प्रदान गरेको छ । गाउँपालिकाको चालू आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषकलाई कृषि जन्य बाली बस्तु बिक्री वितरण वापतको प्रोत्साहन कार्यक्रम अन्तर्गतको अनुदान रकम आज एक कार्यक्रमकाबिच प्रदान गरेको हो । गाउँपालिकाले संञ्चालन गरेको कृषि संकलन केन्द्रमा कार्यविधि अनुसार प्रथम पटक मापदण्ड पूरा ३ महिनामा आफुले उत्पादन गरेका १ सय केजी तरकारी बिक्री वितरण गरेका ७ जना कृषकलाई प्रोत्साहन स्वरुप उत्पादनमा आधारित अनुदान रकम उपलब्ध गराएको गाउँपालिकाका कृषि शाखा प्रमुख मोति आचार्यले जानकारी दिनुभयो ।
सबै भन्दा धेरै ४७६ केजी तरकारी बिक्री गर्ने मल्लरानी गाउँपालिका ४ सारिवाङकी बालिका पराजुलीलाई ४ हजार ७ सय ७० रुपैयाँ, ४५९ केजी तरकारी बिक्री गर्ने पदम प्रसाद बन्जाडेलाई ३ हजार ५ सय ९० रुपैयाँ, ३५७ केजी तरकारी बिक्री गर्ने मल्लरानी गाउँपालिका २ का डिलाराज शर्मालाई ३ हजार ५ सय ७० रुपैयाँ, ३१५ केजी तरकारी बिक्री गर्ने मल्लरानी ४ का कमला खनाललाई ३ हजार १ सय ५० रुपैयाँ अनुदान रकम प्रदान गरेको बताउनुभयो । त्यस्तै २०६ केजी तरकारी बिक्री गर्ने मल्लरानी २ का भुमा जिसी,मल्लरानी ४ का बिर बहादुर नकर्मीलाई २ हजार ६० रुपैयाँ र १३६ केजी तरकारी बिक्री गर्न सफल मल्लरानी ४ का तेमा रानालाई १ हजार ६० रुपैयाँ प्रदान गरिएको कृषि शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो । बाली बिशेष अनुसार उत्पादनमा आधारित अनुदान दिदै आएको उहाँले बताउनुभयो । तरकारीमा प्रतीकेजी १० रुपैयाँ,खाद्यान्न बीउ उत्पादनमा प्रतीकेजी ५० रुपैयाँ,दुधमा प्रतिलिटर ५ रुपैयाँ, घ्यु,लोकल कुखुरामा प्रतीकेजी ५० रुपैयाँ, त्यस्तै गरी खसी बोकामा पनि अनुदान दिएको बताउनुभयो ।
उत्पादनमा आधारित अनुदान रकम पाएसंगै कृषकहरु खुसि भएका छन् । यस्ता खालका कार्यक्रमले कृषकको मननोबल उच्च बनाउन थप टेवा पुग्ने भएकाले कार्यक्रममलाई निरन्तरता दिन आग्रह समेत गरेका छन् । साथै आफुहरुले बस्तु उत्पादन गरेपनि ढुवानीको समस्या रहेकाले गाउँपालिकालाई ढुवानीको ब्यवस्था तथा कृषि एम्बुलेन्स संञ्चालन गर्न आग्रह गरेका छन् । अनुदान रकम वितरण गदै गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले उत्पादनमा बृद्धि गरी कृषकलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउने उदेश्यका साथ चालु आर्थिक बर्षको बजेटमा कार्यक्रम समाबेश गरेर कार्यान्वयनमा ल्याएको बताउनुभयो । उत्पादनमा आधारित कार्यक्रमले बास्तविक किसानलाई फाईदा पुगेको बताउनुभयो । कार्यक्रमका लागी गाउँपालिकाले यस बर्ष २ लाख रुपैया बजेट बिनियोजन गरेको छ । पालिकाले यो नौलो अभ्यास सुरु गरेकाले बजेट कम बिनियोजन गरेको भएपनि आगामी बर्षदेखि बजेटमा बृद्धि गरी लैजाने अध्यक्ष खड्काले बताउनुभयो ।
जिल्लामा तरकारी, दूध, माछा ,मासु, अण्डा प्रर्याप्त मात्रामा उत्पादन हुन सक्दा बुटवल, दाङ, देउखुरी लगाय बिभिन्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था रहेकाले जिल्लामा माग धान्ने गरी उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । यसको लागि गाउँपालिकाले कृषकसंग आवश्यक समन्वय,सहयोग तथा सहकार्य गर्न तयार रहेको बताउनुभयो । साथै कृषकहरुले उत्पादन गरेका बस्तु तथा सेवाहरु सजिलै संकलन केन्द्र तथा बजार सम्म पु¥याउन गाउँपालिकाले छिट्टै कृषि एम्बुलेन्सको ब्यवस्था गर्ने समेत बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका निमित्त कार्यालय प्रमुख बाबुराम न्यौपानेले कृषकले बजार तथा उपभोक्ताको माग अनुसार बस्तु तथा सेवा उत्पादन गर्नुपर्ने बताउनुभयो । सबैले एकै थरीका उत्पादन गर्नु भन्दा पनि स्थानीय भौगोलिक हावा,पानी,माटो सुहाउँदो फरक फरक प्रकारका बस्तु तथा सेवा उत्पादन गरे बजारीकरणको खासै समस्या नहुने बताउनुभयो । न्यौपानेले अनुदान प्राप्तीको लागि मात्रै नभई बृहत् उत्पादन गर्ने गरी ब्यवसायमा लाग्न कृषकलाई अनुरोध गर्नुभयो । यस भन्दा पहिला किसानलाई अनुदान दिदै आएको पालिकाले यस बर्षदेखि उत्पादनका आधारमा किसानलाई अनुदान दिन थालेसंगै गैर किसान निरुत्साहित भएका छन् । सरकारले दिदै आएको अनुदान दुरुपयोग हुदै आएको भन्ने जनगुनासो बढेपछि किसानलाई उत्पादनका आधारमा अनुदान दिन थालेको मल्लरानी गाउँपालिकाले जनाएको छ ।

