रविन विश्वकर्मा,प्यूठान ।
प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट हुने रोपाइँ जात्रा आज प्यूठान सहित देशैभर बिभिन्न ठाउँमा मनाइदै छ । नेवार संस्कृतिबाट सुरु भएको रोपाइँ जात्रा असार महिनाको धान रोपाइँ पछि रोपाई सकिएको खुसीयालीमा गाईजात्राको भोलिपल्ट मनाउने गरिन्छ । सोहि अनुसार आज प्यूठानमा रोपाइँ जात्रा मनाइदै छ । जिल्लाको सदरमुकाम खलङ्गा, बिजुवार,दाखाक्वाडी, कुटिचौर, भिंग्री लगायतका स्थानमा आज राति रोपाइँ जात्रा निकालिन्छ । नेवार समुदायले एक बर्षभरी दिवंगत भएका आफ्ना ब्यक्तिहरुको सम्झनामा मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै गाईजात्रा मनाएसंगै बाली राम्रो उब्जनी हुने विश्वास सहित यो जात्रा देशैभर मनाउने गरिएको छ । धान रोप्ने काम सकिएको खुसियालीमा यो जात्रा मनाइने गरिन्छ । यो जात्रामा रोपाइँमा धान रोपे झैँ गरी गाउँने र नाच्ने गरिन्छ । असारे रोपाइँको झझल्को दिने गरी अघि –अघि गोरु, अनि हली र बाउसे तथा पछि–पछि रोपाहारले धान रोपाई गरे झैँ गर्ने लगायतका हास्य व्यंगात्मक कार्यक्रमहरू यो जात्राको मुख्य आकर्षण रहेको हुन्छ ।
भाद्र कृष्ण तृतीयाको दिन पुरुषले महिलाको भेष धारण गरी धान रोपाई गरेको,खेतालालाई खाजा बाँडेको अभिनय गर्दै, हलि घोडचढीले त्यस जात्रामा रौनकता थप्ने,र परम्परागत कृषि जीवनको झ–झल्को दिने खालका दृश्यहरु हेर्न पाइन्छ । नेपालको मौलिक बाजा पञ्चे बाजाको तालमा बाउसे र रोपाहारहरूले रोपाइँको अभिनय गर्दै यो पर्व मनाउने गरिन्छ । तर ठाउँ अनुसार फरक–फरक तरिकाले यो जात्रा मनाउने गरेको पाइन्छ । दैनिक जीवनको क्रममा भोग्नु परेको चिन्ता, असन्तोष अनि पीडाहरूलाई हँस्यौली र ठट्यौलीका रूपमा पोख्न पाइने यस रोपाई जात्राले हरेकको जीवनलाई सहज बनाउन मदत पुग्ने जन–विश्वास रहेको छ ।

