रविन विश्वकर्मा,प्युठान ।
प्युठानमा विभिन्न याेजनाहरुकाे अनुगमन गरिएको छ । प्रधानमन्त्री कृषि अाधुनिकिकरण परियाेजना,परियाेजना कार्यान्वयन इकाइ प्युठान र एकीकृत कृषि तथा पशुपन्छी विकास विकास कार्यालयद्वारा चालू आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएका याेजना कार्यक्रमहरुकाे शनिबार संयुक्त अनुगमन तथा अवलोकन गरिएको हाे । प्युठान नगरपालिका, ऐरावती गाउँपालिकामा अनुगमन गरिएको हाे ।
एकीकृत कृषि तथा पशुपन्छी विकास विकास कार्यालयद्वारा प्युठान नगरपालिका ८ खप्रेङ्खाेलामा गड्याैला मल प्रर्दशन कार्यक्रम अन्तर्गत माटाे ब्यवस्थापनकाे लागि निर्माण गरिएको ७ वटा याेजना,प्युठान नगरपालिका ७ धैरेनीमा सम्पन्न गरिएको सिचाइ ट्याङ्की निर्माण र पाईप जडान, प्युठान नगरपालिका ४ खड्कडेरामा रहेकाे श्री पाठक पशुपन्छी फर्मकाे अनुगमन गरिएको कार्यालयका निमित्त प्रमुख उमेश चन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पाठक फर्मलाई प्रतिफलमा अाधारित प्राेत्साहन अनुदान अन्तर्गत ३ लाख ११ हजार १ सय १५ रुपैयाँ अनुदान उपलब्ध गराएको बताउनुभयाे ।

त्यस्तै प्रधानमन्त्री कृषि अाधुनिकिकरण परियाेजनाद्वारा प्युठान नगरपालिका ८ खप्रेङ्खाेलामा सुभारम्भ गरिएको
धान खेतमा हाँस तथा माछा पालन, जिसी कृषि फार्मकाे अनुगमन तथा अवलोकन गरिएको कार्यालय प्रमुख चुमानसिंह गिरीले जानकारी दिनुभयो । त्यस्तै माण्डवी गाउँपालिका वडा नंम्बर ५ पार्थुङ्गा र ऐरावती गाउँपालिका वडा नंम्बर ५ सरङ्बेसि फांट, गाेठिबाङ,कैरन लगायतका अन्य ठाउँ गरिएको चैते धान खेतीकाे अनुगमन गरिएको गिरीले बताउनुभयो । यस बर्ष ११ सय ८५ राेपनी क्षेत्रमा चैत धान खेती बिस्तार गरी जिल्लामा कुल २५ सय ८५ राेपनीमा चैत धान खेती गरिदै अाएकाे बताउनुभयो । प्युठान नगरपालिका,स्वर्गद्वारी नगरपालिका,माण्डवी,एरावती गाउँपालिकाका विभिन्न वडाहरुमा चैतेधान खेती गरिएको गिरीले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीले अनुगमका क्रममा दुबै कार्यालय मार्फत सञ्चालन गरिएका काम तथा कार्यक्रम एकदमै राम्राे रहेको पाइएकाे बताउनुभयो । कार्यालयहरुले जिल्लामा कृषि तथा पशुपालनकाे उत्पादन तथा उत्पादकत्व बढाउन बिभिन्न प्रविधि सहित अनुदानका थुप्रै कार्यक्रमहरु संञ्चालन गरेकाले कृषक तथा ब्यवसायीहरुले यसकाे दिगाेपना तथा निरन्तरतामा विशेष ध्यानदिनुपर्ने बताउनुभयो ।
जिसीले जिल्लामा चैत धान लगाउने प्रचलन घट्दै गएकाे अवस्था प्रधानमन्त्री कृषि अाधुनिकिकरण परियाेजनाद्वारा चैते धान खेतीलाई जाेड दिएपछि धान खेतीले गतिलिएकाे बताउनुभयो । जिल्लामा धान,तरकारी फलफुल,माछा,मासु,दूध,अण्डा लगायतका खाद्यान्न बाहिरी जिल्लाबाट अायात गर्नुपर्ने अवस्था भएकाले जिल्लालाई अात्म निर्भर गराउने गरी ब्यवसायीक उत्पादनमा जाेड दिन सबैलाई अाग्रह गर्नुभयो।

यस्तै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जिल्लामा चैते धान खेतीकाे राम्रो संम्भावना रहेको बताउनुभयो । अनुगमन गरिएका लगायत अन्य ठाउँहरुमा सिचाइकाे राम्रो सुविधा भएकाले चैते र बर्खे धान सजिलै उत्पादन गर्न सकिने अवस्था रहेको बताउनुभयो ।
प्रजिअ अर्यालले चैते धानकाे फाईदा धेरै भए पनि यसतर्फ किसानकाे अाकर्षण कम भएकाे उल्लेख गर्दै सबै कृषकलाई यसकाे बारेमा बुझाउन जरुरी रहेको बताउनुभयो । जिल्लाकाे धान अायातकाे अवस्थालाई मध्ये नजर गरी हरेक कृषकले चैते धान खेतिलाई बढवा दिए जिल्ला धानमा अात्म निर्भर हुन समय नलाग्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जिसी,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल,
प्रधानमन्त्री कृषि अाधुनिकिकरण परियाेजना,परियाेजना कार्यान्वयन ईकाइ प्युठानका प्रमुख चुमानसिंह गिरी,एकीकृत कृषि तथा पशुपन्छी विकास विकास कार्यालय निमित्त कार्यालय प्रमुख उमेश श्रेष्ठ,धान जाेन सञ्चालक समन्वय समितिका संयाेजक श्याम थापा,तरकारी जाेन संञ्चालक समन्वय समितिका संयाेजक रेखा बस्याल, जिल्ला स्थिति सुरक्षा निकाय,सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि,कृषक पत्रकार लगायतकाे उपस्थितिमा अनुगमन गरिएको हाे ।










