सुरज पुन मगर, प्यूठान ।सुन्दर स्थल जहाँबाट प्यूठान लगायत छिमेकी जिल्लाको भ्यू नियाल्न सकिने मल्लरानीलाई पर्यटकीय गन्तब्यको रूपमा बिकास गर्न सके यहाँबाट नयाँ आर्थिक उपार्जनका अवसर पक्रन सकिने बुझाइका साथ साहसिक पूर्वाधार जीपलाइन निर्माणका लागि मल्लरानी टुरिज्म इन्भेष्टमेण्ट प्रालीले एक करोड लागतमा जीपलाइन निर्माण गरेको अध्यक्ष इमानसिंह भारतीले जानकारी गराए ।यो जीपलाइन जिल्लाकै पहिलो जीपलाइन हो। प्यूठानको सदरमुकाम खलंगादेखि ५ किलोमिटर पक्की सडकमाथि उक्लिएपछि पर्यटकीयस्थल मल्लरानी पुगिन्छ । २०७८ साल जेठदेखि निर्माण शुरु गरेको जिपलाइन सञ्चालनको अन्तिम तयारी रहेको मल्लरानी टुरिज्म इन्भेष्टमेण्ट प्राली जनाएको छ । कम्पनीका सञ्चालक इमानसिंह भारतीलको अनुसार जिपलाइन को काम सम्पुर्ण पुरा भएको र अब पिङ, पार्किङ, बाल उद्यान, खाजा घर,रेष्टुरेण्ट, मिनी जुलगायतका काम अझै बाँकी रहेको छ। फागुन को पहिला हप्ता उद्घाटन गरेर सञ्चालनमा ल्याउन तयारी रहेको छ । उनले भने,‘ निर्माण कार्य शुरु भएको करिब ३ बर्ष हुन लाग्यो । हामीले समय मै काम गर्न खोजेका थियौँ । विभिन्न बाधा अवरोध तथा प्राविधिकहरू समयमा नआउँदा एक वर्ष ढिला हुन गएको हो । जिपलाइनको दूरी करिब ६सय ५० मिटरको रहेको छ ।जसमा ३० देखि ४० सेकेण्ड समय साहसिक पर्यटकले मजा लिन सक्नेछन् । मल्लरानि मन्दिरबाट सुरु हुने र पालेबन सामुदायिक बनक्षेत्रमा ल्यान्डिङ हुनेगरि निर्माण गरिएको उनले बताए ।
उनका अनुसार जिपलाइन देशका विभिन्न ठाउँहरूमा रहेको र त्यहाँ प्रयोग गर्न २-३ हजारसम्म शुल्क रहेको समेत उनले बताए । सो खेल नेपाली नागरिकका लागि प्रतिव्यक्ति एक पटकमा एक हजार देखि एक हजार पाचसयसम्म लाग्ने र १० जनाको ग्रुप बनाएर आयमा एक लाई १००% छुट दिएको छ भने,बिहान ७ देखि ९ बजे भित्र आउने पर्यटक लाई २०% छुट सम्म दिएको मल्लरानी टुरिजम इन्भेष्टमेन्ट प्रा.लिका अध्यक्ष इमानसिंह भारतीले जानकारी गराए । सबै उमेर समूहका व्यक्तिले खेल्न सकिने सो खेल दिनको चार सयजना बढीले खेल्न सकिनेछ ।
पर्यटकिमय सम्भावना रहेको मल्लरानीमा आफूले जिपलाइन सञ्चालन ल्याउन थालेपछि यहाँका स्थानीयहरू पनि निकै खुशी भएको र साथ दिइरहेको समेत उनले बताए । मल्लरानिबाट गुल्मि सम्म जानको लागि सडक भएकाले यहाँबाट पर्यटकहरू उता जाने र जसका कारण यहाँको विकास हुने पनि उनको भनाइ छ ।
उनले भने,‘ अहिले पनि यहाँ स्थानीय पर्यटकहरू आउने गरेका छन् । तर, यहाँबाट सिधै गुल्मि जानको लागि सडक भएकाले यहाँको मात्र नभइ जिल्लाको विकास हुन्छ । जिल्लामा धेरै धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन् । जहाँ हामीले प्याकेज अनुसार पर्यटकलाई घुमाउन सक्छौँ । त्यसतर्फ राज्यले ध्यान दिन जरुरी छ ।
स्थानीय खुशी, आयआर्जन बढ्ने अपेक्षा
प्यूठानमा त्यो पनि पहिलो पटक जिप लाइन सञ्चालन हुन लागेको देखेका स्थानीयहरू पनि परिक्षण हुँदै गरेको दृश्य हेर्न आइपुगेका थिए । स्थानीय चुमान सिं गुरुङ ले जिपलाइनको दृश्य देख्दा रमाइलो र डर लागेको बताए । गाउँमा पहिलो पटक नयाँ कुरा देखेको भन्दै उनले धेरै खुशी लागको र यसले यहाँका लागि थोरै भएपनि विकासमा सहयोग पुग्ने बताए । मल्लरानीमा पछिल्लो समय विद्युत, सडक राम्रा भएयता पनि खानेपानी नहुँदा समस्या भइरहेको उनको भनाइ छ ।
मल्लरानीमा अहिले सेल्फी पोइन्ट, झुला पिङ, लिङ्गे पिङ्ग, बस्ने बेन्च÷कुर्सी सेट मन्दिर लगायतका संरचनाहरू रहेका छन् ।जहाँ अहिले पनि स्थानीय पर्यटकहरू घुम्न आउने गरेका छन् । मल्लरानी गाउँपालिकाले समेत पाँच करोड रुपैयाँ बजेटमा विभिन्न पर्यटकीय पूर्वाधारका संरचनाहरको निर्माण कार्य अघि बढाएको छ । चिल्ड्रेन पार्क, सिँढी निर्माण, वाटर फाउन्टेन आदि पर्यटकीय पूर्वाधारका कामहरु अघि बढाईएको गाउँपालिकाले जनाएको छ। जिप लाइन सञ्चालनले यहाँको विकासमा टेवा पुग्ने र यहाँका नागरिकहरूलाई फाइदा पुग्ने मल्लरानी धाइरेचौर सामुदायिक बनका अध्यक्ष चुमान सिं गुरुङले बताए । यो जिल्ला मै नयाँ अवधारणा भएको हुँदा पनि स्थानीयहरू निकै खुशी भएको उनले बताए । शुरुमा यो ठाउँमा जिपलाइन निर्माण गर्न दिन अनुमति लिँदा केही समस्या भएको भन्दै पछि यसले वनलाई कुनै क्षति नपुग्ने भएपछि काम सहज रुपमा अगाडि बढेको समेत बताए ।

