अर्घाखाँची । लुम्बिनी प्रदेशका पाँच जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने ‘नौमुरे’ बहुउद्देश्यीय जलविद्युत् आयोजनाको काम अगाडि नबढ्दा ८२ प्रतिशत रकम फ्रिज भएको छ ।
अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८, सातमारामा रहेको आयोजनाले गत आर्थिक वर्ष २०७९र८० मा बजेटको कूल ८२ प्रतिशत रकम फ्रिज भएको छ । १७ दशमलव ४७ प्रतिशत रकम मात्र खर्च गरेको छ । आयोजनाको काम अघि बढ्न नसक्दा बजेट फ्रिज गएको हो ।
चालु र पुँजीगत गरेर रु छ करोड ७९ लाख ५३ हजार रकम विनियोजन भएकामा जम्मा रु एक करोड १८ लाख ७६ हजार खर्च भएको नौमुरे बहुउद्देश्यीय आयोजना अर्घाखाँचीका प्रमुख जयराम प्रजापतीले बताए ।
चालु खर्चतर्फ रु एक करोड ८५ लाख ५३ हजार विनियोजन भएकामा रु ४२ लाख ६९ हजार खर्च भएको छ । दरबन्दीअनुसारको कर्मचारी नहुँदा चालु खर्चको रकम फ्रिज भएको आयोजनाको पुँजीगततर्फ रु चार करोड ९४ लाख विनियोजन भएकामा रु ७६ लाख सात हजार मात्र खर्च भएको देखिन्छ । कार्यालयको रु पाँच करोड ६० लाख ७७ हजार फ्रिज गएको हो । जुन कूल बजेटको ८२ दशमलव ५३ प्रतिशत रकम हो ।
सम्भाव्यता अध्ययनअनुसार सात वर्षभित्र आयोजना सम्पन्न हुने लक्ष्य लिए पनि उद्देश्यअनुरुप काम भने हुन सकेको छैन । कार्यालयका प्रमुखदेखि अन्य कर्मचारीले तलब भत्ता खानुबाहेक अन्य प्रगति शून्यजस्तै छ ।

