प्यूठान । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रा. डा. गोविन्दराज पोख्रेलले आफूले देखेका सपना जीवनको अन्तिम समयसम्म भए पनि पूरा गरेरै छाड्ने बताएका छन् ।
गौमुखी गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहँदा सुरु गरिएका नौमुरे जलविद्युत आयोजना तथा भालुबाङ–बाग्दुला–ठुलाबेसी–बाग्लुङ भिमगिठे त्रिदेशीय सडक आयोजना जसरी पनि सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे ।
यी परियोजना सम्पन्न भएमा प्यूठान जिल्लाको समग्र विकास हुनुका साथै जिल्लावासीको जीवनस्तर उकासिने उनको भनाइ छ ।
‘यी योजनाहरू राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका बेला सुरु भएका हुन्, तर विभिन्न कारणले काम अघि बढ्न सकेन,’ उनले भने, ‘यी योजनाहरू जीवनको अन्तिम समयसम्म भए पनि सम्पन्न गर्ने मेरो दृढ प्रण छ।’
नौमुरे जलविद्युत आयोजना सम्पन्न भए प्यूठान र अर्घाखाँचीका नागरिकले रोजगारीका अवसर पाउनुका साथै पर्यटकीय गतिविधि समेत बढ्ने पोख्रेलले बताए । त्यसैगरी भालुबाङ–बाग्दुला–भिमगिठे सडक भारत र चीन जोड्ने महत्त्वपूर्ण मार्गका रूपमा विकास हुने विश्वास व्यक्त गर्दै यसले जिल्लाको आर्थिक विकासमा ठूलो टेवा पुग्ने दाबी गरे ।
सडक आयोजना सम्पन्न भए प्यूठान जिल्ला भारत–चीन व्यापारिक हबको रूपमा विकास हुने उनको विश्वास छ । त्यसका लागि आफूलाई जिताउनुको विकल्प नरहेको भन्दै प्यूठानी जनतासँग समर्थनको अपिल गरे ।

