प्यूठान । प्यूठान जिल्लाको माडी क्षेत्रबाट काठमाडौँका लागि ईभी एसी हाइस सेवा सञ्चालनमा आएको छ। लामो समयदेखि रोकिएको यस रुटलाई पुनः सञ्चालनमा ल्याउँदै स्वर्गद्वारीलाई प्रमुख गन्तव्य मान्दै यो सेवा सुरु गरिएको हो।
किमिचौर–भिंग्री–चकचके हुँदै सञ्चालनमा ल्याइएको हाइस सेवा स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालिले सञ्चालन गरेको हो। कम्पनीका अध्यक्ष चन्द्रमान श्रेष्ठका अनुसार अत्याधुनिक सुविधा सम्पन्न ईभी सवारी साधन भएकाले सेवा नियमित र भरपर्दो हुने विश्वास गरिएको छ। उनले भने, “यो रुट लामो समयदेखि बन्द थियो। अब ईभी सवारीमार्फत यात्रुहरूले सहज र वातावरणमैत्री सेवा पाउनेछन्।”
यस सेवाबाट माडी क्षेत्रका बासिन्दासहित छिमेकी जिल्ला रोल्पाका स्थानीय र स्वर्गद्वारी धाम भ्रमण गर्न आउने पर्यटकहरूलाई विशेष सुविधा हुने स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेकप्रसाद भण्डारीले बताए। उनका अनुसार स्वर्गद्वारी धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य भएकाले यातायात सुविधाको विकासले पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्नेछ।
यात्रीहरूको चापलाई लक्षित गर्दै प्रालिले प्यूठान सदरमुकाम खलंगाबाट चितवन नारायगढसम्मका लागि पनि ईभी हाइस सेवा सञ्चालनमा ल्याएको जनाएको छ। यसले प्यूठान, रोल्पा, अर्घाखाँची लगायतका जिल्लाका यात्रुहरूलाई मध्यदेशका विभिन्न भागमा आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।
स्थानीयहरूले पनि वातावरणमैत्री प्रविधि प्रयोग गरी नयाँ यातायात सेवा सुरु भएकोमा स्वागत गरेका छन्। उनीहरूको भनाइमा, यो कदमले स्वच्छ ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्नुका साथै यात्रुहरूको खर्चमा समेत केही राहत दिनेछ।

