प्यूठान । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग (सामाजिक सुरक्षा शाखा)ले भदौ मसान्त भित्र लाभग्राही स्वंयम उपस्थित भई सामाजिक सुरक्षा भत्ताको विवरण अद्यावधिक गर्ने भनेपछि वडा कार्यालयहरु सेवाग्राही खोज्न व्यस्त छन् । बृद्धबृद्धा, अपाङ्ग, असक्तहरुको सुविधालाई मध्यनगर गर्दै वडा कार्यालयहरु जनप्रतिनिधि सहित सेवाग्राहीको घरदैलो सम्म पुगेका छन् ।
अनलाईन बायोमेट्रिक अपडेट गर्नुपर्ने भएपछि सेवाग्राहीहरुको सुविधाका लागि टोलटोलमा पुगेको स्वर्गद्वारी नगरपालिका–५ का वडा अध्यक्ष गिरबहादुर घर्तिले बताए । दाङको लमही र घोराहीमा पुगेर विभिन्न कामको शिलशिलामा अस्थायी बसोवास रहेका वडावासीहरुको विवरण संकलन गरेको उनले बताए ।
गौमुखी गाउँपालिका–४ का वडा अध्यक्ष धनिराम सुनार त देश बाहिरै पुगेका छन् । भारतका विभिन्न ठाऊँमा पुगेर तथ्यांक अपडेट गरेका छन् । यस्तै माण्डवी गाउँपालिका–४ मर्कावाङ्गले दाङको घोराहीमा पुगेर सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुको तथ्यांक अद्यावधिक कार्य गरिरहेको वडा अध्यक्ष प्रकाश वलीले बताए ।
जिल्ला बाहिर नपुगेका वडा कार्यालयहरुले बस्ती स्तरमा पुगेर तथ्यांक अध्यावधिकको काम गरिरहेका छन् । प्यूठानमा ६४ वटा वडा रहेका छन् ।
सामाजिक सुरक्षा भत्ता अन्तरगत आर्थिक वर्ष २०८१÷८२ मा प्यूठान जिल्लामा ९८ करोड ३३ लाख ४३ हजार ७९० रुपैंया खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय प्यूठानले जनाएको छ ।