प्यूठान । झिमरुक गाउँपालिका–२ का वडा अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले आफ्नो जन्मदिनको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत बिद्युत महशुल तिरिदिने घोषणा गरेका छन् । । अब वडा भित्र रहेका सबै घरधुरीको न्यूनतम विद्युत महसुल तिरिदिने घोषणा गरेका हुन् ।
वडा अध्यक्ष पोख्रेलले आफूले पाउने सेवासुविधाबाट बाँकी कार्यकालभर वडावासीको विद्युतको न्यूनतम शुल्क व्यहोर्ने बताएका छन् । सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले र स्वर्गीय आमा डिलकुमारी पोख्रेल (शान्ता) को सम्झनामा यस्तो निर्णय गरेको उनले बताए ।
न्यूनतम विद्युत शुल्क बुझाउन प्रत्येक पटक सयौँ रुपैयाँ खर्च गर्नुका साथै अनावश्यक झन्झट व्यहोर्दै आएका वडावासीलाई यस कदमले ठूलो राहत पुग्ने विश्वास गरिएको छ । उनका अनुसार वडा नम्बर २ मा करिब ६ सय घरधुरीमा विद्युत मिटरबक्स जडान भइसकेको छ, जसका न्यूनतम शुल्क अब अध्यक्ष पोख्रेलले तिरि दिनेछन् ।
यस घोषणा पछि वडावासीहरूले यसलाई सामाजिक सद्भाव र नेतृत्वको जिम्मेवारी वहन गर्ने उदाहरणीय कदमका रूपमा स्वागत गरेका छन् ।

