प्युठान — नेकपा माओवादी केन्द्रको युवा संगठन युवा संगठन वाइसियल (YCL) प्युठानले श्रम तथा उत्पादन अभियान अन्तर्गत दम्ति–बाहाने सडक मर्मत गरेको छ।
झिमरुक गाउँपालिका–२ स्थित सर्वोदय माध्यमिक विद्यालयबाट सुरू गरिएको दुई महिने श्रम अभियानको यही सन्दर्भमा, आज प्युठान नगरपालिका–८ र नौबहिनी गाउँपालिका अन्तर्गत पर्ने दम्ति–बाहाने सडकको मर्मत कार्य सम्पन्न गरिएको YCL प्युठानले जानकारी दिएको छ।
मर्मतको क्रममा सडकमा भएका पानी जम्ने खाडलहरू पुर्ने, पानी बग्ने बाटोहरू निर्माण गर्ने, सडक छेउका झाडी र घाँस सफा गर्ने लगायतका कामहरू गरिएको YCL प्युठानका संयोजकहरूले बताएका छन्।
सङ्गठनका अनुसार, अभियानको मुख्य उद्देश्य युवायुवतीलाई श्रम, सीप र उत्पादनमा जोड्नु रहेको छ। “सामाजिक उत्तरदायित्व अन्तर्गत युवा शक्तिको उपयोग गरी समुदायमा देखिएका समस्याहरू समाधान गर्ने हाम्रो प्रयास हो,” अभियानमा सहभागी एक युवा सदस्यले बताए।
दम्ति–बाहाने सडक प्युठान नगरपालिका र नौबहिनी गाउँपालिकाको साझा क्षेत्र भए पनि यस सडकको मर्मतमा स्थानीय सरकारहरूले प्राथमिकता नदिएको भन्दै स्थानीयवासीहरूले असन्तुष्टि जनाउँदै आएका छन्। यसअघि निरन्तर पानी परिरहेको अवस्थामा सडक हिलो र खाल्डाखुल्डीले भरिएको थियो, जसले गर्दा सर्वसाधारणलाई आवतजावतमा निकै कठिनाइ भएको थियो।
YCL प्युठानले आगामी दिनमा जिल्लाका अन्य सामुदायिक पूर्वाधारहरूमा पनि श्रम योगदानमार्फत सुधार अभियान सञ्चालन गर्ने जनाएको छ।

