प्यूठान । प्यूठान नगरपालिकाका विद्यार्थीहरुको नतिजा उत्कृष्ट बनाउने भन्ने विषयमा अभियान नै सञ्चालन गरेर नगरपालिका अगाडि वढेको छ । लगातार ४ दिन सम्म विद्यालयका विषय शिक्षक देखि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिसंग अन्तरक्रिया गरेर उसले अगामी योजना बनाएको छ ।
विद्यालयको गुणस्तर सुधार गर्न नगरपालिकाले न्यून विद्यार्थी पास गराउने विषय शिक्षक, ति विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसंग छलफल थालेको छ । नगर शिक्षा समितिको बैठक तथा प्रधानाध्यापकहरुसंगको बैठकको निर्णय अनुसार त्यस्तो गरिएको प्यूठान नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा रहेका सबै विद्यालयमा कक्षा ५ र कक्षा ८ कक्षाका ७५ प्रतिशत भन्दा कम नम्वर ल्याउने तथा कक्षा १० मा विषयगत हिसावले ९० प्रतिशत भन्दा कम नम्वर ल्याउने विषयका १ सय ३१ विषय शिक्षकहरुसंग २ चरण र प्रधानाध्यापक तथा अध्यक्षहरुसंग २ चरण गरि ४ चरणमा अभियान सफल बनाउन छलफल गरि के कारणले विद्यार्थी पास गराउन सकिएन भन्ने छलफल गरि लिखित प्रतिवद्धता समेत ल्याइएको शिक्षा शाखाले जनाएको छ ।
चालु शैक्षिक सत्रमा विद्यार्थीलाई पास गराउन शिक्षक, विद्यालय, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा प्यूठान नगरपालिकाले गर्नुपर्ने कामको विषयमा पनि छलफल भएको र प्राप्त सुझाव कार्यान्वयनमा अगाडि वढाउने नगरपालिकाले प्रतिवद्धता व्यक्त गरेको प्यूठान नगरपालिकाका नगर उपप्रमुख देवेन्द्र वर्माले वताए । विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसंग समेत नगरपालिकाले लिखित प्रतिवद्धता लिएको छ । कुल विद्यालय मध्य १–५ का ८१ शिक्षक, ६–८ का ३९ शिक्षक विद्यालय र ९–१० का ११ शिक्षक गरि कुल १ सय ३१ विद्यालयका प्रधानाध्यापक तथा अध्यक्षहरुसंग छलफल गरिएको उपप्रमुख वर्माले वताए । उनका अनुसार चालु शैक्षिक सत्र देखि उत्कृष्ट गर्नेलाई पुरस्कार र कमजोर हुनेलाई सचेत गराउने उद्देश्य अनुसार यो कार्य गरिएको हो । पुरस्कार र सचेतनाको दायरा फराकिलो पार्ने समेत शिक्षक र विद्यालय व्यवस्थापन समितको सुझाव प्राप्त भएको उनले वताए ।
गत शैक्षिक सत्रमा प्यूठान नगरपालिकाले सबै विद्यालयका ८ र १० कक्षाका विद्यार्थीको अतिरिक्त कक्षा सञ्चालनका लागि थप १७ लाख विद्यालयहरुमा पठाएको थियो । हामी चालु शैक्षिक सत्रमा ५ कक्षालाई समेत त्यसमा जोड्ने योजना बनाएको छौं, प्यूठान नगरपालिका प्रमुख विष्णु बहादुर योगीले भने । जग वलियो नभई शिक्षाको गुणस्तर राम्रो नहुने भएकाले हामीले यसरी शिक्षा क्षेत्र सुधार गर्न अभियान सञ्चालन गरेको उनको भनाइ थियो ।
गत वर्ष ६८.४४ प्रतिशत सहित एसइइमा जिल्लाको सबैभन्दा उत्कृष्ट नतिजा हासिल गरेको प्यूठान नगरपालिकाले यस वर्ष कक्षा ५, ८ र १० मा त्यो भन्दा उत्कृष्ट नतिजा ल्याउन वर्षभरि खट्ने जनाएको छ । हामी निरन्तर अनुगमन, सुपेरिवेक्षण र पृष्ठपोषण गरेर विद्यालयको नतिजा उत्कृष्ट बनाउन खट्ने छौं, नगर शिक्षा शाखा प्रमुख बासुदेव पण्डितले वताए । अनुगमन र सुपेरिवेक्षेण प्रमुख जिम्मेवारी हो हामी गछौं, उनले भने । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुले नतिजा उत्कृष्ट बनाउन खट्ने प्रतिवद्धता व्यक्त गरेको प्यूठान नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

