काठमाण्डौं– धनुषामा एक जना बालिकाको हत्या भएको छ। गए राति करिब ११ ः३० बजेतिर जनकपुरधाम उपमहानगरपालिका ४ जिरोमाइल भन्ने ठाउँमा बालिकाको हत्या भएको हो।
साथै दुई जना घाइते छन्। ती बालिकाकी आमा र भतिजी नाता पर्ने घाइते अवस्थामा फेला परेका हुन्। मधेस प्रदेश प्रहरी प्रवक्ता डिएसपी विजय यादवका अनुसार क्षिरेश्वरनाथ नगरपालिका(४ बटेश्वर घर भएकी १५ वर्षीया अञ्जलीकुमारी यादवको हत्या भएको हो। उनकी ३५ वर्षीया आमा आशा र उनकी भतिजी अन्दाजी १४ वर्षीया राधा घाइते अवस्था फेला परेका थिए।
उनीहरू तीनै जनालाई गए राति नै मधेस प्रदेश प्रादेशिक अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा १२ बजेतिर चिकित्सकले अञ्जलीकुमारीलाई मृत घोषणा गरेका थिए। राधा मिथिला नगरपालिका १ ढल्केवर बस्ने ढोगेन्द्र यादवकी छोरी हुन्। उनीहरू तीन जना जनकपुरधाम ४ जिरोमाइल भन्ने ठाउँबाट दुई किलोमिटर पूर्वमा रहेको सूर्यनन्द चौधरीको एक तले घरमा डेरा लिएर बसेका थिए।
गए राति क्षिरेश्वरनाथ नगरपालिका ९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले खुकुरी प्रहार गरेको आरोप लागेको छ। उनी हाल फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। मधेस प्रदेश प्रहरी प्रमुख एवं डिआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार साह पेसाले सवारी चालक हुन्।

